कनकाई अनलाईन
झापाको फरक(फरक स्थानमा एक बालिका सहित दुई जना मृत भेटिएका छन् । भद्रपुर नगरपालिका वडा नं। ९ प्रकाशपुरका सोमनाथ सिग्देलकी ३ वर्षीया छोरी निर्जला सोमबार अपराह्न मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घरदेखि करिब ५ सय मिटर दक्षिणतर्फको पक्की नालामा डुबेको अवस्थामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ । घर नजिकै रहेको केदारेश्वर शिवालय मन्दिर आमाबुबासंगै गएकी बालिका एकाएक बेपत्ता भएपछि अपहरण भएको भन्दै स्थानीय र प्रहरी खोजी कार्यमा जुटेका थिए ।
दिउँसो साढे १२ बजे एकाएक हराएकी बालिकाको शव अपराह्न ४ बजेतिर भेटिएको हो । साढे ३ घण्टापछि मन्दिर अगाडीको नालामा डुबेको अवस्थामा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताउनुभयो ।
सुरुवातमा अपहरणको आंशका भएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले विशेष टोली परिचालन गरेको थियो । अपहरण वा अन्य घटना नभएर पानीले बगाएर बालिकाको मृत्यु भएको पाइएको छ, रिजालले भन्नुभयो । आवश्यक छानबिन भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
यसैगरी झापाको बिर्तामोडमा बिर्तामोडको मुक्ति चौक छेउमा सोमबार बिहान एक व्यक्ति मृत भेटिएको छ । प्रसाईँ सुपर मार्केटअगाडि पानी जमेको नालामा एक व्यक्ति मृत फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । ढलभित्र मृत अवस्थामा भेटिएका व्यक्तिको पहिचान खुल्न सकेको छैन ।
नजिकै साइकल भेटिएकाले साइकलबाट लडेर मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सुरज कार्कीले बताउनुभयो । अन्दाजी ३५ वर्षजस्तो देखिने मृत व्यक्तिको पहिचान नखुलेको उहाँले जनाउनुभयो । स्थानीयले नालीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।