Kanakai Online

संसद अवरोध गर्ने प्रबृत्ति गलत शर्मा


शनिवार, भदौ २, २०८० |

कनकाई अनलाईन
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद बैठक नियमित अवरुद्ध गर्ने नेकपा ९एमाले० को प्रबृत्ति गलत रहेको बताउनुभएको छ । धनकुटामा कांग्रेस जिल्ला नीति अनुसन्धान तथा प्रशिक्षण विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा आज उहाँले सो कुरा बताउनुभएको हो ।

महामन्त्री शर्माले जनताको आवाज बोल्ने ठाउँ अवरुद्ध गर्नु गलत भएको बताउनुभयो । कांग्रेस वा कम्युनिष्ट जो परे पनि भ्रष्टाचारको फाइल खोल्नुपर्छ भनेर आफूहरु लागि रहेको उहाँको भनाइ छ ।

भ्रष्टचारमा मुछिएका मान्छेलाई सजायको व्यवस्था हुनुपर्ने बताउँदै उहाँले कानुनभन्दा माथि कोही नभएको भन्दै सरकारले निरन्तर सदाचार र सुशासनको काम गर्नुपर्ने बताउनुभयो ।

अहिलेको सुन प्रकरणको छानविन सिआइबीबाट जारी रहेको उहाँले बताउनुभयो । शरणार्थी र ललिता निवास प्रकरणजस्तै सिआइबीले नै सुन प्रकरणको अनुसन्धान गर्नु ठीक रहेको उहाँको भनाइ छ ।

देशको सुशासन कायम गर्न कांग्रेस बलियो हुन आवश्यक रहेको बताउँदै कुनै बेला हत्या हिंसाबाट सत्ता कब्जा गर्न हिडेका दल कांग्रेसकै बाटोमा आएको उहाँको भनाइ छ । महामन्त्री शर्माले कांग्रेस देशको जेठो पार्टी भएकाले देश बनाउन अन्य दलभन्दा जिम्मेवार रहेको उहाँको दावी छ ।

सम्बन्धित खबर