Kanakai Online

उत्तरदायित्व सहकारी भद्रपुर इजाजत नलिइ सञ्चालनमा रहेको खुलासा


बिहिवार, साउन ३२, २०८० |

कनकाई अनलाईन
भद्रपुर १० स्थित विपि चौकमा झण्डै दुई वर्षयता सञ्चालनमा रहेको उत्तरदायित्व ऋण तथा बचत सहकारी संस्था विना इजाजत निर्वाध सञ्चालनमा रहेको पाइएको छ ।


साइन बोर्डमा स्थापना २०७० लेखेर टाँगिएको सहकारीको मुख्य कार्यालय कहाँ छ अनि सहकारीको जिम्मेवार व्यक्ति को हो भन्ने सूचना समेत दिन नसक्ने कर्मचारीको भरमा सयौं स्थानीयबाट रकम संकलन गर्दै आएको सहकारीले बचत फिर्ता गर्न नसकेपछि भद्रपुर १० नम्बर वडा कार्यालयले खोजी गर्दा इजाजतको प्रमाण नपाइएको हो ।


स्थानीय सरकारसित कुनै अनुमती लिएको नपाइएपछि भद्रपुर सहकारी शाखा प्रमुख नेत्र पोखरेल तथा भद्रपुर १० का वडा सचिव मनकुमार डाँगीको टोलीले कार्यालयमै गएर कागजपत्र माग्दा त्यहा रहेकी संकलक कर्मचारीले केही पनि देखाउन नसकेको वडा सचिव डाँगीको भनाइ छ । उनका अनुसार शुक्रवार १० वजेभित्र सम्पूर्ण कागज पत्र लिएर वडाकार्यालयमा आउन संस्थाका व्यवस्थापकलाई जानकारी गराइएको छ ।
पछिल्लो दुई महिनायता बचतकर्ताले बचत रकम माग्न थालेपछि पुराना संकल कर्मचारी काम छोडेर अन्यत्रै गएका छन् भने नयाँ कर्मचारीका रूपमा एक जना संकलक देखिए पनि अन्य जिम्मेवार व्यक्ति नभेटिदा अधिकाम्स बचत कर्ताको रकम फिर्ता हुन नसकेको पीडितहरूको गुनासो छ ।
डेढ वर्षयता टोलटोलमा रहेका बेरोजगार तथा आर्थिक रूपमा कम्जोर रहेका व्यक्तिलाई राम्रो तलव दिने बाहना बनाएर आफन्त तथा छरछिमेकीलाई सदस्य बनाउन लगाई रकम संकलन गर्दै आएको सहकारीमा तीन महिनायता व्यवस्थापक समेत नरहेको स्थानीयको भनाइ छ । तलव नपाएपछि पूराना संकलक कर्मचारी काम छोडेर अन्यत्र गइसकेकाले उनीहरूको भरमा रकम जम्मा गर्ने बचतकर्ताको बचत रकम फिर्ता हुन नसकेको पीडितको गुनासो छ ।
झापामा पछिल्लो समय २८ वटा सहकारीहरुमा समस्या देखापरेको भनिएपनि यसरी विना दर्ता समेत सहकारी सञ्चालनमा देखिएपछि यो सङ्ख्या वढन सक्ने सहकारीकर्मीको भनाई रहेको छ ।

सम्बन्धित खबर