कनकाई अनलाईन
करको दर चर्को भएको, धनीपुर्जा बितरणमा बिलम्ब तथा यसमा समेत चर्को मुल्य लिएको नगरपालिकाले गरेका अन्य कार्यहरु पारदर्शी नभएको भन्दै यहाँस्थित स्वतन्त्र नागरिक कार्य सम्पादन समुहले आज कनकाई नगरपालिका ७ दुर्गापुरमा बिरोध प्रदर्शन गरेको छ ।
सुकुम्बासीलाई निशुल्क धनीपुर्जा, करको दर खारेजी, लगायातका चर्को नाराबाजीगर्दै सभाले दुर्गापुर बजार परिक्रमा गरेको थियो । आयोजित कोणसभामा बोल्दै पुर्व गाविस अध्यक्ष समेत रहेका सुरुङ्गा खानेपानीका अध्यक्ष भीमप्रसाद अधिकारीले कनकाई नगरपालिकाले करको दर चर्को बनाएको बताउँनुभयो । यहि करको अवस्था रहेमा कोहीपनि कनकाई नगरवाशी यस नगरमा बस्न सक्दैनन हामीलाई कनकाई नगरपालिकाका जनप्रतिनिधिले जग्गा जमिन खरिद गर्ने ग्राहक खोजीदिनुपर्यो हामी अन्यत्रको पालिका जान्छौ नत्र करको दर घटाउनुपर्यो अधिकारीले भन्नुभयो ।
करको दरका लागि नेपाली कांग्रेसकै जनप्रतिनिधि उपप्रमुख भएको तर कांग्रेसले कर वढी भयो भनेर बाहिर आन्दोलन गरेजसरी दोहोरो भुमिका खेलेको अधिकारीको भनाई थियो । अधिकारीले मध्यम स्तरका नागरिकहरु नगरपालिकामा बस्न सक्ने अवस्था नरहको भन्दै स्थानीय सरकार संघिय सरकारको गलत हर्कतको विरोध गर्नुपर्ने बताउँनुभयो । जनताले नेता र जनप्रतिनिधिहरुको हिसाब गरिरहेको भन्दै जनमैत्री शासन गर्न नसकेको आरोप लगाउँनुभयो ।
यसैगरि स्वतन्त्र नागरिक कार्य सम्पादन समुहका अध्यक्ष शेरबहादुर थापाले नगरपालिकाले हेफर नेपाल लगायातका गैह सरकारी संस्थासग समन्वय गरेर कमशल सामाग्री कृषकलाई दिएको भन्दै तत्काल हेफर कार्यक्रमसग सम्बन्ध तोडनुपर्ने बताउँनुभयो । थापाले घरजग्गा मात्रै नभएर व्यापार व्यावसायमा समेत चर्को कर लगाएको बताउँनुभयो । करको दर घटाएको भनेपनि त्यसमा सत्यता नरहेको थापाको भनाई थियो ।
यसैगरि अर्का वक्ता नारायण ओलीले धनीपुर्जाको कर वढी भएको घटनामा स्थानीय पालिका दोसी भएको आरोप लगाउनुभयो । स्थानीय सरकारले आफ्फै तोकेर माथि पठाएको र यसैलाई आधार बनाएर धनीपुर्जाको शुल्क तोकिएको ओलीले बताउँनुभयो । ओलीले नगरपालिकाले कृषिको लागि काम गर्न हेफर नामक एनजिओलाई जिम्मा दिएको भन्दै यसको काम कार्वाही पारदर्शी नभएको बताउँनुभयो । आफ्ना कर्मचारी र जनप्रतिनिधिहरुमा विश्वास नर्गने तर विदेशी संस्थालाई कृषिको जिम्मा दिनुको पछाडि के कारण छ ओलीको प्रश्न थियो । ओलीले जनताको विकास भन्दा पनि आफ्ना कार्यकर्ता पोस्ने काम भइरहेको भनाई थियो । कार्यक्रममा बोल्दै वक्ताहरु गोपाल उप्रेती,भक्तबहादुर सुब्बा , रमेश श्रेष्ठ लगायातले नगरपालिकाले कर लगायातका विषयमा जनविरोधी काम गरिरहेको भन्दै नसच्चाएमा आन्दोलनको चेतावनी दिनुभयो ।