Kanakai Online

झापामै फल्यो दश हजार मेट्रिक टन सुपारी


बुधवार, साउन २४, २०८० |

कनकाई अनलाईन
धान र चिया उत्पादनका लागि प्रसिद्ध झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’को उर्वर जिल्लाका रुपमा पनि चिनिएको छ ।

धार्मिक कार्यमा न्वारान र विवाहदेखि मृत्यु संस्कारसम्म नभई नहुने सुपारीलाई औषधीय गुणयुक्त मानिन्छ । हिन्दू धर्ममा सुपारीको दानालाई गणेशका रुपमा पूजा गर्ने चलन छ । यसको दानालाई फरक स्वादका लागि पानको पातसँग मुखमा चपाउने र पाहुनाको स्वागत गर्ने खाद्यवस्तुका रुपमा धेरै मानिसले प्रयोग गर्दै आएका छन् ।

यसको पातबाट वातावरणमैत्री थाल तथा बटुकासमेत उत्पादन हुने गरेको छ । वर्षौंदेखि जिल्लामा सुपारीको खेती हुँदै आए पनि यसको खेतीले व्यावसायिक स्वरुप धारण गरेको भने धेरै भएको छैन । अरु बालीभन्दा कम लागतमा बढी आम्दानी पाइने भएकाले किसान धान र अन्य बालीको साटो सुपारी खेतीमा आकर्षित हुन थालेका छन् । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार सुपारीको व्यावसायिक खेती झापासहित कोशीका चार जिल्लामा हुने गरेको छ । सुनसरी, मोरङ र उदयपुरमा पनि यसको व्यावसायिक खेती हुने गरेको छ ।

मन्त्रालयका कृषि विज्ञ अभिमन्यु अधिकारीका अनुसार कोशी प्रदेशको कुल सुपारी उत्पादनमध्ये दुई तिहाइभन्दा बढी सुपारी झापामै उत्पादन हुने गरेको छ । त्यही कारण झापालाई सुपारीको राजधानी तथा उर्वरभूमि पनि भन्ने गरिन्छ । झापा, मोरङ, सुनसरी, उदयपुर र इलामको कुल चार हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुँदै आएको छ । आर्थिक वर्ष २०७९र८० मा कोशी प्रदेशमा १४ हजार पाँच सय ६१ मेट्रिक टन सुपारी उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

झापामा दुई हजार सात सय ७० हेक्टरमा सुपारीखेती हुँदै आएको छ । झापामा आव २०७९र८० मा १० हजार तीन सय ७० मेट्रिक टन सुपारी उत्पादन भएको छ । झापामा सुपारी खेतीको विस्तार पनि तीव्ररुपमा भइरहेको छ । जिल्लाका १५ वटै पालिकामा किसानले सुपारीको व्यावसायिक खेती गर्दै आएको सुपारी खेतीका अभियन्ता एवम् सुपारी जोनका पूर्व अध्यक्ष नीलकण्ठ तिवारी बताउनुहुन्छ । सुपारीको पातदेखि खोस्टासमेत बिक्री हुन थालेपछि यसप्रति किसानको आकर्षण बढेको उहाँको भनाइ छ ।

झापामा सुपारीको खोस्टाबाट प्लेट, बटुका, चम्चालगायतका सामान बनाउने ठूला साना गरी आधा दर्जन उद्योग सञ्चालनमा छन् । सुपारीका पातबाट निर्मित सामान युरोपसम्म निर्यात हुने गरेको छ । झापापछि मोरङमा सबैभन्दा बढी सुपारी खेती र उत्पादन हुँदै आएको छ । मोरङको नौ सय पाँच हेक्टरमा सुपारीको खेती हुँदै आएको छ । गत आवमा मोरङमा दुई हजार नौ सय ४६ मेट्रिक टन सुपारी उत्पादन भएको थियो ।

यसैगरी इलाममा गत आवमा दुई सय नौ हेक्टरमा सुपारी खेती भएकामा छ सय १० मेट्रिक टन उत्पादन भएको थियो भने सुनसरीको एक सय ३५ हेक्टरमा खेती हुँदा पाँच सय २५ मेट्रिक टन सुपारी उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

उदयपुरको ३५ हेक्टरमा सुपारी खेती भएको र गत आवमा एक सय नौ मेट्रिक टन सुपारी उत्पादन भएको पाइएको छ । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापामा सुपारी जोन सञ्चालन भएको उहाँले बताउनुभयो । जोन घोषणा भएसँगै सुपारी किसानलाई खेती विस्तार, बिरुवा उत्पादन, कृषि औजार, भण्डारण, सुपारी प्रशोधनलगायतका लागि परियोजनाले ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा विभिन्न औजार दिने गरेको छ ।

झापाको पूर्व–पश्चिम राजमार्गको उत्तरी क्षेत्रमा सुपारी खेतीका लागि अनुकूल माटो छ । बाहुनडाँगी, बुधबारे, शनिश्चरेमा जताततै सुपारीका मनमोहक बगान देख्न सकिन्छ । पछिल्लो समय सुपारी खेती विस्तार गर्ने लहर नै चलेको छ । “कम लगानीमा बढी आम्दानी हुने भएकाले सुपारी खेतीतर्फ किसानको आकर्षण बढेको हो”, सुपारी जोनका पूर्व अध्यक्ष तिवारी भन्नुहुन्छ, “जङ्गली हात्तीले अरु बाली खाएर नष्ट गरेपछि सुरक्षित बालीका रुपमा हात्तीपीडित क्षेत्रका बासिन्दाले सुपारी खेती विस्तार गर्न बाध्य भएका छन् ।”

एकपटक लगाएपछि पुस्तौँसम्म दीर्घकालीन आम्दानीको स्रोत बन्ने र पातदेखि फलसमेत बोटबाटै बिक्री हुने गरेको उहाँले बताउनुभयो । उहाँले जङ्गली हात्तीले सुपारी बालीलाई कम क्षति गरेको पाइएको बताउनुभयो । स्वदेशमा सुपारी खेती विस्तारसँगै यसबाट लाभान्वित किसानको सङ्ख्या बढ्दै गएको छ । मेचीनगर नगरपालिका–४ का राजेन्द्र मिश्रले धानखेती मासेर अढाइ बिघामा सुपारी खेती गर्नुभएको छ । सुपारीबाट प्रतिबिघा वार्षिक रु। तीन लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

सुपारी बारीभित्रै तोरी, फिलुङ्गे, आलस, कागती, बेसार र अदुवाको खेती पनि गर्न सकिने उहाँको भनाइ छ । बहुवर्षे बाली भएकाले एकै वर्षमा एउटा बोटबाट ५० किलोसम्म सुपारी फलाउन सकिन्छ । स्वदेशमा खेती र उत्पादनको प्रचुर सम्भावना भए पनि तेस्रो मुलुकबाट आयातित सुपारीको तस्करी धन्धाका कारण स्थानीय किसान मारमा परेका छन् । सरकारले तोकेको भारत निकासी कोटामा विदेशी सुपारी मिसाउने धन्धाका कारण स्वदेशी सुपारीको बजार अन्योल र विवादमा पर्ने गरेको किसानको गुनासो छ । रासस

सम्बन्धित खबर