Kanakai Online

झापामा आँखा पाक्ने रोग फैलियो बिर्तामोड र भद्रपुरका विद्यालय बन्द


शुक्रवार, साउन १९, २०८० |

कनकाई अनलाईन
झापामा आँखा पाक्ने रोग फैलिएसगै उपचारका लागि अस्पतालमा भीड लागेको छ । आँखा पाक्ने रोगका कारण बिर्तामोड र भद्रपुर नगरपालिकाका विद्यालयहरु सोमवारसम्म बन्द गर्ने निर्णय गरिएको सम्बन्धित नगरपालिकाले जनाएको छ ।
आँखा पाक्ने रोगको संक्रमण फैलिएसँगै नगरक्षेत्रका सबै संस्थागत विद्यालय बन्द गरिएको भद्रपुर नगर शिक्षा शाखाले जनाएको छ ।
आँखा पाक्ने रोग विद्यार्थीहरूमा फैलिएको भन्दै संस्थागत विद्यालयका प्रधानाध्यापकहरुले बिहीबार नगरपालिकासँग बैठक बसी सोमवारसम्म विदा दिने निर्णय गरेको बताएका छन ।

आँखा पाक्ने संक्रमणबाट धेरै विद्यार्थीहरु संक्रमित भएपछि बिर्तामोड नगर क्षेत्रका विद्यालयहरु आइतवार र सोमवार बन्द गर्ने नगरपालिकाले निर्णय गरेको जनाएको छ ।

संक्रमण नभएका विद्यालयहरुको लागि विदा गर्नैपर्ने बाध्यता नराखिएको शिक्षा शाखाका अधिकृत केशर खवासले बताउँनुभयो । आँखा पाक्ने समस्या भएपछि संस्थागत विद्यालयका तर्फबाट नगर प्याव्सनले नगरपालिकामा गएर दुई दिन विद्यालय बन्द गर्न माग गरेको थियो । आँखा पाक्ने रोगका कारण बितामोडका केही विद्यालयहरुले आजदेखि नै पठनपाठन बन्द गरेका छन् ।
केहिदिन देखि आँखा पाक्ने रोगका कारण झापाका अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छन् । मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको संख्या अत्यधिक रहेको छ । एउटै घरका धेरै व्यक्ति यो रोगबाट संक्रमित भएको पाइएको छ ।
मेची आँखा अस्पताल बिर्तामोडका नेत्र सहायक पुष्प अधिकारीले दैनिक पाँच सय जति बिरामी आँखा पाकेको समस्या लिएर आउने गरेको बताउँनुभयो ।
बिर्तामोड आँखा अस्पतालका नेत्र सहायक विनोद दाहालले आफ्नो अस्पतालमा दैनिक आउने ६ सय बिरामीमध्ये तीन सय बिरामी आँखा पाक्ने समस्या लिएर उपचारका लागि धाउने गरेको बताउँनुभयो ।
मेचीनगरको काँकडभिट्टामा रहेको मेची नेत्रालयमा दैनिक सयको हाराहारीमा आँखा पाकेको समस्या लिएर उपचारमा आउने गरेको नेत्र अधिकृत योगेन्द्र राउतले बताउँनुभयो । काँकडभिट्टा आँखा अस्पताल, दिव्यज्योति आँखा अस्पताल, दृष्टि आँखा अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर र बिएन्डसी हस्पिटलमा समेत आँखा पाक्ने रोगका संक्रमितहरुको भीड लाग्ने गरेको पाइएको छ । आखाँ पाक्ने रोग लिएर आउनेमा नेपाल तथा भारतीय नागरिक समेत रहेको सम्बन्धित अस्पताले जनाएको छ । झापाका आँखा अस्पतालमा आधा भन्दा वढी आँखाका बिरामी भारतीय रहदै आएका छन ।

सम्बन्धित खबर