Kanakai Online

झापा भद्रपुर नाकाको राजस्व घट्यो


आइतवार, साउन १४, २०८० |

कनकाई अनलाईन
झापाको भद्रपुर भन्सार कार्यालयले यस बर्ष पनि राजश्व संकलनमा कमि आएको छ ।
भारतको पश्चिम बंगाल र विहारसित सीमा जोडिएको भद्रपुर भन्सार कार्यालयमा हरेक बर्ष राजश्व संकलनमा कमि आउने गरेको पाइएको हो ।


छोटी भन्सारका रूपमा रहँदा ३२ करोडसम्म वार्षिक राजश्व संकलन गरेको भद्रपुर भन्सारले आर्थिक वर्ष २०७९÷८० सम्म आइपुग्दा दश करोडमा सिमित हुनु परेको तथ्याङ्क छ ।
वंगलादेशका कपडाजन्य उत्पादन समेत यही बाटोबाट नेपाल भित्रने भद्रपुर भन्सारले अघिल्लो वर्ष १३ करोड राजश्व संकलन गरेकोमा यस वर्ष पाएको लक्ष्य समेत छुन सकेन ।
भद्रपुर भन्सार प्रमुख अमित तिवारीले भने राजश्व घट्नुमा कोरोनाले ल्याएको मन्दीलाई प्रमुख कारण रहेको बताउँदै आउँनु भएको छ । स्थानीय व्यापारी र जानकारहरुको भनाइ भने फरक रहने गरेको छ । भन्सार राजश्व चुहावटमा कर्मचारीदेखि सुरक्षाकर्मीसम्मको सिण्डिकेट मूल कारण रहने गरेको स्थानीयको आरोप छ ।
दश बर्षदेखि भद्रपुर नाकाबाट भित्रने कुनै पनि सामग्री भने नघटनु तर राजश्वमा दर्ता हुने क्रम एक तिहाइ मात्र रहनुले शंकाको सुविधा बढाएको स्थानीयको भनाई रहेको छ । स्थानीय व्यापारीहरुका अनुसार यस नाकाबाट भित्रने कपडा धरान, इटहरीदेखि काठमाण्डौसम्मका ठूला व्यापारीले लैजाने दर विगतकै हाराहारीमा रहेको छ ।


यस नाकाबाट मेसीनरी पार्टपूर्जा, कपडा, रासायनिक विषदी, चप्पल जुत्ता, कृषि उपकरणका पार्ट, सुर्ति लगायत आयत हुने गरेको छ । पछिल्लो समय राजश्व बढी संकलन हुने सुर्ति तथा मेसीनरी पार्टपूर्जाबाट कम परिणाममा बैध बाटोबाट आउँदा राजश्व संकलनको परिणाम हरेक वर्ष घटिरहेको जानकारहरुको भनाई छ ।
हरेक बर्ष घटने राजश्वका कारण चोरी तस्करी नियन्त्रणका लागि परिचालित प्रहरी प्रशासनको भुमिकामाथि समेत प्रश्न चिन्ह उब्जेको बताइएको छ । मेची भन्सारको कार्यक्षेत्र भित्र पर्ने इलामको पशुपति नगर, झापाका नकलबन्दा, सतीघट्टा, गौरीगञ्ज लगायतबाट राजश्व यथेष्ट मात्रमा संकलन भइरहेको तथ्याङ्क पाइएपनि भद्रपुर भन्सार अनर्तगतका केचना, घेरावारी, पिण्डालवारी, टागनडुब्बा लगायत नाका राजश्व छलीका कारण राजश्व संकलनमा कमि हुने गरेको तथ्याङ्क रहेको छ ।

स्थानीय जानकारहरुका अनुसार यस भन्सारमा नयाँ हाकिमहरू हुदाँ चोरी तस्करीमा कडाइ गरे जस्तो गरेपनि बिस्तारै नाका पुरानै अवस्थामा आउने गरेको व्यापारीहरुको भनाई छ । यता भन्सार कर्मचारीको भने भन्सारमा सामानहरु कम आएर लक्ष्य पूरा नभएको दाबी रहेको छ ।
यस्तै पूर्वीनाका काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालय भुटान र बङ्गलादेशसहित उत्तरी भारतको पश्चिम बङ्गाल, सिक्किम र आसामसम्म हुने व्यापारको राजस्व सङ्कलन गर्ने निकाय हो । तेस्रो मुलुकसँगको व्यापारसमेत यही नाकाबाट हुने गर्दछ ।
मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा १७ अर्ब ५३ करोड १९ लाख २८ हजार र आर्थिक वर्ष २०७७÷७८ मा रू १८ अर्ब ६९ करोड ९२ लाख ६४ हजार राजस्व असुली गरेको भन्सार कार्यालयको विवरणले देखाउँछ ।
आव २०७८÷७९ को तुलनामा आव २०७९÷८० मा तीन अर्ब ४८ करोड ४३ लाख ८९ हजार राजस्व कम सङ्कलन भएको देखाउने विवरणले पनि चुहावटकै संकेत गरिरहेको छ ।
पेट्रोलियम पदार्थको आयात कम भएको, सुपारीलगायत तेस्रो मुलुकबाट ठूलो परिमाणमा आउने वस्तुको आयात ठप्प रहेकाले राजस्व सङ्कलनमा असर परेको भन्सारको प्रष्टिकरण रहेको छ । कोरोना महामारीपछिका तीन वर्षमा मेची भन्सार कार्यालयमार्फत हुने राजस्व सङ्कलनमा लगातार ह्रास आइरहेको समेत जनाइएको छ ।

सम्बन्धित खबर