कनकाई अनलाईन
झापाको मेची भन्सार कार्यालय काँकडभिट्टाबाट निस्किएको १ करोड १ लाख बराबरको हुक्काको फेबर, कोइला, कोल लगायातका सामाग्रीहरु बरामद गरेको छ ।
गएराती साँझ सवा ७ बजेको समयमा उक्त सामाग्री लोड गरिएको एउटा कन्टेनर गाडी प्रहरीले नियन्त्रणमा लिएको थियो ।
मेची भन्सारमा राजश्व नतिरी निस्किएको विशेष सुराकीको आधारमा प्रहरीले सो कन्टेनर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताउँनुभयो ।
प्रहरी देख्नासाथ गाडीमा भएका चालक अन्यत्र भागेको समेत प्रहरी प्रवक्ता रिजालले बताउँनुभयो । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले विशेष सुराकीका आधारमा चेकजाँच गर्न लाग्दा चालक भागेपछि प्रहरीले उक्त कन्टेनरलाई नियन्त्रणमा लिएको हो ।
संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर–६ स्थित ट्राफिक पोस्ट नजिकैबाट शुक्रबार साँझ सवा ७ बजे कन्टेनरलाई नियन्त्रणमा लिएको हो । कन्टेनर फेला परेपनि सम्बन्धित व्याक्ति र कागजात कुनै फेला नपरेको प्रहरीले जनाएको छ । कन्टेनर कसरी विना भन्सार बाहिर निक्कियो भन्नेवारेमा समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले ना २ ख ४९०२ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिएको छ । हाल उक्त कन्टेनर र सामानलाई राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्र रिजालले बताउँनुभयो । ‘कन्टेनर भन्सारबाट निस्किए पनि कुनै कागजात फेला परेको थिएन ।
प्रहरीले कन्टेनरमा भएको सामाग्रीहरु एक करोड १ लाख रुपैँया र कन्टेनर सहित १ करोड २१ लाख बराबरको मुल्याङ्कन गरेर इटहरीमा बुझाइने तयारी थालेको प्रहरीले जनाएको छ ।
मेची भन्सारमा सय रुपैँयाको सामाग्री समेत बिना भन्सार बारिन नपाउने नियम लागु भएपनि करोडौको हुक्का बिना भन्सार बाहिरीएसगै यसले थुप्रै आशंका उब्जाएको छ ।