Kanakai Online

गुन्द्रुकपछि सिस्नो ब्रान्डिङ हुँदै


बुधवार, साउन १०, २०८० |

प्रेम अधिकारी
इलामको रोङ गाउँपालिकाले गुन्द्रुकको ब्रान्डिङ गरी बजार पठाउन सफल भएपछि यस बर्ष सिस्नोको ब्रान्डिङ गर्ने भएको छ ।

स्थानीय खोलाखोल्सामा पाइने सिस्नो बजारमा पु(याउँदा राम्रो मूल्य पाउने भएपछि गाउँपालिकाले गाउँ सभाबाट पारित गर्दै सिस्नोको ब्रान्डिङ गर्ने भएको हो ।

गाउँपालिकाले छ महिनाअघिदेखि सहकारीमार्फत किसानका बारीको साग सङ्कलन गरी प्रशोधन गरेर ब्रान्डिङ गरेको गुन्द्रुकको प्याकेट तयार गरेको छ । ‘रोङ गुन्द्रुक’ नामले ब्रान्डिङ गरेको गुन्द्रुक अहिले नेपालका चलेका सुपर मार्केट र अमेरिकामा माग उच्च रहेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताउनुभयो । उहाँले भन्नुभयो, “गुन्द्रुकमा सफल भएपछि प्रत्यक्ष किसानको समृद्धिसँग जोडिएको सिस्नोको ब्रान्डिङ गरेर बजारीकरणको तयारी हो ।” गुन्द्रुकलाई गुणकारी खाद्यवस्तुका रूपमा समेत चिनिने गरेको उहाँले जानकारी दिनुभयो ।

रोङ गुन्द्रुक प्याकेजिङ गरिएकै उद्योगमा प्रशोधन गर्न सकिने भएको हुनाले पूर्वाधारको एउटै लगानीमा दुवै वस्तुको उत्पादन हुने गरी सिस्नु ब्रान्डिङ योजना अघि बढाइएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवासले जानकारी दिनुभयो ।

किसानलाई बाँदरले अत्यधिक दुःख दिएको अवस्थामा सिस्नु रोपिएको स्थानमा बाँदरले दुःख नदिने भएकाले पनि उक्त कार्यक्रम प्रभावकारी बन्ने उहाँले बताउनुभयो । सिस्नोले पोलेपछि बाँदर भाग्ने गर्छ ।

कच्चा पदार्थको सहज उपलब्धता र उच्च मागका कारण सिस्नो ब्रान्डिङ कार्यक्रम सफल हुने आधार भएको अध्यक्ष स्याङ्बोले बताउनुभयो ।

गाउँपालिकाले सिस्नोको ब्रान्डिङबारे प्राविधिक अध्ययन सुरु भइसकेको र चाँडै काम थालिने जनाएको छ । गाउँ सभामार्फत बजेट नै विनियोजन गरेर सिस्नोको ब्रान्डिङ गर्ने तयारी थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले जानकारी दिनुभयो ।

सिस्नो गुणकारी वनस्पति भएकाले नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा सजिलै खपत हुने विश्वास पनि गाउँपालिकाको छ । “यसको उत्पादनसँगै बजारीकरणमा पनि हामी आक्रामक रूपमा लाग्ने छौँ,” अध्यक्ष स्याङ्बोले भन्नुभयो, “विस्तृत योजना बनिसकेको छ ।”

आफ्नो कार्यकालको पहिलो वर्षमा गुन्द्रुक उत्पादन गरेर बजारमा लगेको गाउँपालिकाले यो वर्ष सिस्नोसँगै ‘रोङ मह’ को पनि ब्रान्डिङ गर्दै छ । गाउँघरमा सिस्नो जताततै पाइए पनि बजारमा बिक्रीका लागि खासै पुग्दैन । गाउँमा खेर गइरहेको सिस्नो सहकारीमार्फत खरिद गरी गाउँपालिकाले प्रशोधन गरेर बजारीकरण गर्ने योजनामा छ ।

सम्बन्धित खबर