कनकाई अनलाईन
झापाको मेचीनगर क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले ७०० क्युफिट साखु जातको काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वको टोलिले शुक्रवार राति अन्दाजी ७ सय क्युफिट गोलिया काठ बरामद गरेको हो । बरामद साखु जातको काठलाई हाल डिभिजन वन कार्यालय झापामा राखिएको र आवश्यकीय थप अध्यान असुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
एसपी अर्याल नेतृत्वको टोलीले मेचीनगर– १ स्थित कृष्णथुम्की मन्दिर नजिकैबाट सो परिमाणको काठ बरामद गरेको थियो । ‘कृष्णथुम्की नजिकैबाट उक्त साखु जातको काठ चोरी तस्करी हुने गरेको सुचना आएसगै प्रहरीले त्यहाँ पुगि उक्त परिमाणको काठ बरामद गरेको प्रहरीले जनाएको छ । बरामद काठलाई डिभिजन बन कार्यालय झापाको घाटगद्धीमा राखेर नापजाँच र थप मुचुल्का सुरु गरिएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी ‘घटनास्थल पुग्दा काठ छाडेर तस्करीमा संग्लनहरु अन्यत्रै भागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्यालले बताउँनुभयो । चोरी गर्ने समूहले ट्याक्टरमा लोड गरी लैजाँदै गरेको साल जातको गोलिया काठ सशस्त्र प्रहरीलाई देख्न साथ ट्याक्टर छाडेर भागेको समेत प्रहरीले जनाएको छ ।
सशस्त्रले तत्काल सो ट्याक्टरलाई नियन्त्रणमा लिएर तस्कर समूहको खोजी गर्दा थप एउटा ट्याक्टरसहित काठ फेला परेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले थप खोजतलास गर्दा अन्य जातको २०० क्युफिट काठ र करिब एक ट्रक साल र अन्य जातको थप काठ समेत फेला परेको थियो ।
घटनास्थलबाट काठ चोरी तस्करी गर्ने व्यक्तिको खोजी भइरहेको र त्यहाँबाट दुई वटा ट्याक्टर र काठ गरी करिब ४० लाख रुपैयाँ मूल्याङ्कन तोकेर जिल्ला डिभिजन वन कार्यालय झापा बुझाईको सशस्त्र प्रहरीका एसपी अर्यालले बताउँनुभयो ।
यता मेची सब डिभिजन वन कार्यालय मेचीनगरका रेन्जर कुलप्रसाद भट्टराईले सशस्त्रले बरामद गरेको काठको विषयमा थप अनुसन्धान भइरहेको बताउँनुभयो । व्यक्तिगत, सरकारी वनको भएपनि साल जातको काठ वनको अनुमति बेगर काट्न नमिल्ने हुदा यो गैह्र कानुनी भएको भट्टराईले बताउँनुभयो ।