कनकाई अनलाईन
देश कोरोना कहरमा भएको बेला नागरिकस्तरबाट संकलित रकमबाट स्थापना गरिएको झापाको कनकाई —४ कोटीहोममा रहेको पीसीआर ल्याबका सम्पूर्ण सामाग्री प्रादेशिक अस्पताल भद्रपुरलाई हस्तान्तरण गरिएको छ ।
झापामा कोरोना सङ्क्रमण समुदायसम्म देखिन थालेपछि तीनवर्ष अघि मेची प्रादेशिक अस्पताल भद्रपुरको स्वामित्वमा रहने गरी कोटीहोममा ‘एककालागि एक अभियान’को पहलमा पीसीआर ल्याव संचालनमा आएको थियो ।
हाल कोरोना संक्रमण नियन्त्रण भइसकेको अवस्थामा कोटीहोमस्थित पीसीआर ल्याव प्रयोग बिहिन हुन थालेपछि त्यहाँ रहेका बहुमुल्य सामाग्री प्रादेशिक अस्पतालमा हस्तान्तरण गरिएको ‘एककालागि एक अभियान’ का संयोजक महेन्द्रकुमार गिरीले बताउँनुभयो । ‘एककालागि एक अभियान’, कनकाई नगरपालिका र प्रादेशिक अस्पतालका विच भएको सहमति बमोजिम प्रादेशिक अस्पतालले आफ्नो दोस्रो प्रयोगशालाको रुपमा उक्त ल्याबलाई सञ्चालनमा ल्याएको थियो ।
हाल संक्रमण नियन्त्रण भइसकेको अवस्थामा उपकरणलाई आवश्यकता अनुसार अस्पतालले प्रयोगमा ल्याउँन सक्ने भएकाले स्वास्थ्यसँग सम्बन्धित बहुमुल्य उपकरण अस्पताललाई नै हस्तान्तरण गरिएको अभियानका संयोजक गिरीले बताउँनुभयो ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको रोहबरमा अभियानका संयोजक गिरी र प्रादेशिक अस्पतालका ल्याब इन्चार्ज जितेन्द्र झा सहितको हस्ताक्षरमा ल्यावका विभिन्न जिन्सी सामाग्रीको विवरण(लिष्ट)सहित अस्पताललाई हस्तान्तण गरिएको हो ।
ल्याव संचालनकोलागि कर्मचारीको व्यावस्थापन भने कनकाई नगरपालिकाले गरेको थियो । संक्रमणकालीन अवस्थामा कोटीहोमबाट पीसीआर ल्याब सञ्चालनमा आएसँगै तीन वर्षको अवधिमा ९ हजार ३ सय ४१ जनाको निशुल्क नमुना परीक्षण भएको कनकाई नगरपालिकाले जनाएको छ ।
त्यस्तै ३९ हजार ५ सय २५ जनाको सशुल्क गरी यस ३ बर्षको अवधिमा यस ल्यावबाट मात्रै ४८ हजार ८ सय ६६ नमुना परीक्षण भएको ल्यावको व्यवस्थापन तर्फका स्वास्थ्यकर्मी ईन्द्रहरी भट्टराईले बताउँनुभयो । कोटीहोमस्थित पीसीआर ल्यावमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ साथै मोरङको केही भागबाट समेत सङ्कलित नमुना परीक्षण भएको भट्टराईले बताउँनुभयो ।