कनकाई अनलाईन
ठेकेदार कम्पनीले समयमा बाटो नबनाएको भन्दै झापा बिर्तामोडका स्थानियले सडकमै रोपाई गरेर बिरोध जनाएका छन । ठेकेदारको लापरवाहीका कारण हिडडुलमै सास्ती भोग्नुपरेका स्थानीयको आरोप छ । बिर्तामोड नगर अस्पताल जाने सडकमा मंगलवार स्थानीयले धान रोपेका हुन ।
बिर्तामोड—३ स्थित नगर अस्पताल जाने रंगशाला उन्नती मार्गको सडक ठेकेदारको लापरवाहीका कारण अलपत्र परेर हिलाम्मै भएपछि स्थानीयले विरोधस्वरु सडकमै धान रोपेका हुन् ।
कालोपत्रे र प्लमको ठेक्का लिएको ओमसाई निर्माण सेवाले ठेक्काको म्यादभित्र काम पूरा नगरेपछि अलपत्र बनेको सडकमा आवतजावतका लागि निकै समस्या भएको स्थानीयको भनाई छ । सेवाग्राही, स्वास्थ्यकर्मी र स्थानीयहरुलाई सो बाटो भएर हिड्न कठिन भएको बताएका छन । मानिसहरु बीच बाटोबाट हिड्न नसकी प्लमबाट हिड्नुपर्ने बाध्यता भएको भन्दै स्थानीयले बिरोध स्वरुप मंगलवार सडकमै रोपाई गरेको बताएका छन । बाटो अलपत्र पारेर छोड्दा सडक छेउको खाल्डोमा बालबालिका डुब्ने खतरा बढेको र विद्यार्थी अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई सास्ती भएकोले विरोधस्वरुप सडकमा धान रोप्नुपरेको स्थानीय छायाँ कडरियाले बताउँनुभयो ।
४७१ मिटर लम्बाई र ८ मिटर चौडाई कालोपत्रे र प्लम निर्माण गर्नका लागि ओमसाई निर्माण सेवाका प्रोप्राइटर सिटौलाले ८२ लाख ८३ हजार ३४६ रुपैयाँमा ठेक्का पारेको थियो । फागुन १५ गते ठेक्का संझौता भएको निर्माण कम्पनीले असार ५ मा काम सक्नुपर्ने म्याद रहेको थियो । म्याद सकिए पनि निर्माण कार्य सम्पन्न नहुँदा सडक हिलाम्मै बनेको हो ।
म्याद सकिँदासम्म ठेकेदार कम्पनीले मुस्किलले प्लमको काम मात्र मुश्किलले सकेका छन् । कालोपत्रे गर्नुअघि ग्राभेलसम्म गर्न नसक्दा सडक पुरै हिलाम्मे भएको छ । मानिसहरु त्यस बाटोबाट हिड्न नसकी अन्यतिरबाट घुमेर अस्पताल जाने गरेका छन् । काममा निकै ढिलासुस्ती गरेपछि बिर्तामोड नगरपालिकाले ठेकेदार सिटौलालाई २ पटक लिखित चेतावनी दिएकोमा ठेकेदारले अटेर गरेको बिर्तामोड वडा नम्बर ३ का वडा सदस्य हरि बाँस्कोटाले बताउँनुभयो ।
नगर अस्पतालजस्तो संवेदनशील ठाउँमा जाने बाटो अलपत्र पारेर छाडेपछि बिरोध स्वरुप सडकमै रोपाई गर्नुपरेको स्थानीयको भनाई छ ।