झापाको हल्दिबारी गाउँपालिकाले विपन्न वर्गका नागरिकहरुका लागि निर्माण गरेको १३ वटा पक्की घर आज एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।
अति विपन्न ,पिछडिएको जाति , दलित , अल्पसंख्यक,अपांग ,एकल महिला , बृद्धबृद्धालाई प्राथमिकतामा राखेर हल्दिवारी गाउँपालिकाले घर हस्तान्तरण गरेको हो । घर पाउने १३ परिवारमध्ये सन्थाल समुदायका ९ परिवार छन् । त्यस्तै दलित समुदायका ३ र खस क्षेत्री समुदायका एक परिवार छन् । घर पाउनेहरुमा मराङमाई हेमरम,भीमबहादुर कामी ,विश्वनाथ हास्दा ,धनबहादुर विश्वकर्मा ,लालबहादुर विश्वकर्मा , लुखीराम मुर्मू ,नारायण हेमरम , विशाल हास्दा ,सुनिराम सोरेन ,जसमी किस्कू ,एकराज कट्वाल, सुकमणि मुर्मू र हपना हास्दाको परिवार रहेका छन् । उनीहरुले शौचालय , बिजुली ,खानेपानीलगायतका सुविधा भएको तीन कोठे पक्की घर पाएका हुन् । प्रदेश सरकारको सहयोगमा हल्दिबारी गाउँपालिकाले वडा नं २ स्थित जनता प्रा.वि.को जग्गामा ५८ लाख ५८हजार ७७७ रुपैयाँमा ती घर निर्माण गरेको हो । जय इश्वरी निर्माण सेवाले २०७६ पुष ६ गते संझौता गरी २०७८ असार २० गते निर्माण कार्य सम्पन्न गरेको थियो । निर्माण भएको दुई वर्षपछि ती घर विपन्न नागरिकहरुलाई हस्तान्तरण गरिएको हो ।
विपन्न नागरिक आवास हस्तान्तरण कार्यक्रममा घर पाउने परिवारलाई घरको चाबी र संझौतापत्र हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले विविध कारणले घर हस्तान्तरण कार्यमा ढिलाई भएको बताए । उनले आवाससँगै ती परिवारका लागि रोजगारीको व्यवस्था गर्न समन्वय गर्ने प्रतिवद्धता जनाए । साथै उनले ती सबै परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा समेत गरे । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले नमूना बस्तीको रुपमा गाउँपालिकाले तयार गरेको घरहरुलाई आफ्नै सम्झेर स्याहार गर्न आग्रह गरिन् ।
कार्यक्रममा वडा नं २ का वडाध्यक्ष शुकलाल राजवंशी , नेकपा माओवादी केन्द्रकी टीका राउतले गाउँपालिकाले निर्माण गरिदिएको आवासले विपन्न परिवारलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । हल्दिवारी गाउँपालिकाले अर्को चरणमा थप आठ परिवारका लागि आवासको व्यवस्था गर्न लागेको जनाइएको छ । जनता प्रा.वि.का विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीम मगरले स्वागत गरेको कार्यक्रमको संचालन गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए ।