Kanakai Online

कनकाई ६ को ३२ लाखमा बनेको वार्ड कार्यालयमा किन वार्डअध्यक्ष सर्न मानेनन ?


सोमवार, असार १८, २०८० |

कनकाई अनलाईन

झापाको कनकाई नगरपालिका वडा नम्बर ६ का लागि बनाइएको भवन प्रयोग नहुँदा अलपत्र बनेको छ । गत बर्ष निर्माण सम्पन्न भएको उक्त भवन प्रयोगमा नआउँदा अलपत्र र जीर्ण बन्दै गएको हो ।

स्थानीय रामचन्द्र पौडेलले उपलब्ध गराएको २ कठ्ठा जग्गामा बनेको सो भवनको संरचना उपयुक्त नहुँदा हालसम्म प्रयोगमा आउन सकेको छैन । कार्यालय प्रयोगमा नआउँदा संरचना कमजोर बन्दै गएको छ भने शौचालयमा राखिएको पानी ट्याङ्की हावाले उडाएको छ । आफ्नै भवनमा कार्यालय राख्न नपाएपछि वडा कार्यालय भने स्वास्थ्यको भवनमा राखिएको छ ।

नयाँ कार्यालय भवन साँघुरो र अपायक भएकाले वडा कार्यालय सार्न नसकिएको वडाध्यक्ष दीर्घबहादुर थापाले बताए । उनले भने– ‘असुविधा, साँघुरो, कर्मचारीहरु राम्ररी बस्ने ठाउँ नभएको सानो वडा कार्यालय बनेको कारणले, अनि सुरक्षाको दृष्टिकोणले पनि एकान्त, भुँइ तला र टीनको छानो मात्र भएकाले अहिले त्यहाँ सर्न सकिएको छैन ।’ कार्यालय भवन एकान्तमा भएको, टीनको छानो भएको र सुरक्षाका दृष्टिकोणले असुरक्षित भएकाले वडा कार्यालय तत्काल सार्न नसकिएको उनको भनाई छ ।

इलामको सुर्योदय नगरपालिका वडा नम्बर ८ मा कार्यालय रहेको सिद्धिथुम्का निर्माण सेवा प्रा.लि.ले भवन निर्माण गरेको हो । नगरपालिकाले सुर्योदय निर्माण सेवालाई उक्त भवन निर्माणका लागि भ्याटसहित ३१ लाख ९८ हजार ९३० रुपैँया ६५ पैसा उपलब्ध गराएको थियो । शौचालय बाहेक आठवटा पिलर राखेर ४० फिट लम्बाई र २२ फिट चौडाईको उक्त भवनको छानामा भने टिन लगाइएकोछ । कार्यालय भित्र आल्मुनियमले पार्टिसन गरिएको छ ।

संरचना निर्माणको हिसाबले लागत मुल्य अत्यधिक महंगो भएको स्थानीयबासीको गुनासो छ । एक स्थानीयबासीले भने– ‘त्यत्रो पैसाले त त्यति सानो भवनको पक्की छत नै बनाउन सकिन्छ ।’ संरचना निर्माणमा अनियमितता भएको उनले आरोप लगाए । उनका अनुसार लागत अनुमान बढी गरेर कम मुल्यमा संरचना निर्माण गरिएको छ ।

यता भवन निर्माणका बिषयमा वडाध्यक्ष आफुपनि सन्तुष्ट छैनन् । उनले भवनको स्टमेट आफुले मागेपनि हालसम्म उपलब्ध नभएको बताए । ‘निर्वाचित भएपछिको पहिलो कार्यपालिका बैठकमा मैले यस बिषयमा कुरा उठाएको थिएँ,’ उनले भने, ‘भवन कसरी त्यस्तो बन्यो, कतिको हो, के हो, कसले स्टमेट गरेको हो, ठेकेदार को हो स्टमेट हेर्न पाउँ भनेर मैले त्यहाँ कुरा राखेको हुँ ।’ तर त्यस दिन विहानको बैठक भएको र कर्मचारी नआएकाले हेर्न नपाएको उनले बताए । त्यसपछि पनि बारम्बार त्यस बिषयमा कुरा गर्दा खासै भरपर्दो जवाफ कसैलेपनि नदिएको वडाध्यक्ष थापाले गुनासो गरे ।
यता उक्त भवन ३२ लाखमा बनेको सुनेपछि स्थानीयले भष्टाचारको आशंका गरेका छन । हामीले आफ्नो घर बनाउनु हो भने ७ लाखमा यतिको टिनको घर बनाउन सक्छौ सरकारी काममा कसरी ३२ लाख खर्च भयो स्थानीय एकले भने, यता भवन निर्माण भएको लामो समयसम्म वार्ड कार्यालय नसरेपछि वार्ड कार्यालयको भवनमा भने स्थानीयले पानी परेका वेला मकै थन्काउने बाख्रा बाध्ने काम गदै आएका छन । जनताकै करबाट बनेको भवनमा वार्ड कार्यालय नसरेपछि स्थानीयले पानी परेको बेला घाँस पराल राख्न पाएको बताएका छन ।

सम्बन्धित खबर