Kanakai Online

पालिकाले निकाल्यो सहकारीको पक्षमा विज्ञप्ति


सोमवार, असार १८, २०८० |

कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिकाले सहकारीको ऋण तिर्नका लागि चेतावनी सहितको विज्ञप्ति जारी गरेको छ ।
असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको ताकेताले आर्थिक संकटमा परेका ऋणीहरु हैरान भइरहेका बेला शिवसताक्षी नगरपालिकाले सार्वजनिक सूचना जारी गरी समयभित्र सहकारीहरुको ऋण तिर्न चेतावनी दिदै सुचना जारी गरेको हो ।

सहकारी संस्थाहरुले लगानी गरेको ऋण असुली गरिदिन नगरपालिका स्वयं लागेको देखिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले जारी गरेको सूचनामा यदि समयमा सहकारीको ऋण नतिरी अटेर गरे वा सम्पर्कमा नजाने ऋणीहरुको नाम सार्वजनिक गर्नुका साथै प्रचलित कानुनबमोजिम कार्वाही गर्ने चेतावनी दिइएको छ ।

शिवसताक्षी नगरपालिकाको नियमन क्षेत्रभित्र ५० वटा सहकारीहरु रहेका छन् । ऋण असुली गरिदिनका लागि नगरका सहकारीले निखित निवेदन दिएको नगरपालिकाले जनाएको छ । सहकारीले नगरपालिकामा लिखित निवेदन दिएपछि नगरपालिकाले सूचना जारी गरेको शिवसताक्षी नगरपालिकाका सहकारी अधिकृत बद्री दाहालले बताउँनुभयो । उनले सहकारीको ऋण उठाइदिने भन्दा पनि सहकारीहरुको आग्रहमा सो सूचना जारी गरिएको जानकारी दिनुभयो । दाहालले गलत गर्ने शिवसताक्षीका सहकारीहरुमाथि पनि उजुरी परेको बताउँनुभयो । शिवसताक्षीका दुईवटा सहकारीले निक्षेपकर्ताको बचत फिर्ता नगरेर कार्यालय बन्द गरेको सुचना आएको नगरपालिकाले जनाएको छ । ती दुईवटा समस्याग्रस्त सहकारीको बारेमा अनुसन्धान गर्न कार्यपालिका सदस्य रामनरेश शर्माको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको छ । जसको सदस्यहरुमा सहकारी अधिकृत बद्री दाहाल र लेखा अधिकृत प्रकाश योङहाङ रहनुभएको छ । लघुवित्त र सहकारीहरुले विपन्न वर्गलाई उठिवास लगाइरहेको बेला स्थानीय सरकारले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर आफ्ना जनतालाई धम्कयाउनु ठीक नभएको सहकारी र लघुवित्त सम्बन्धि अभियान संञ्चालन गर्दै आउँनुभएका दुर्गा प्रसाईले बताउँनुभएको छ । यता सहकारीको ऋण ऋणीले नतिरेको भन्दै त्यस्ता ऋणिको नाम सार्वजनिक गरि पालिकाबाट पाउने सेवा सुविधा सिफारिस रोकिदिन भन्दै सहकारीबाट निवेदन आएको पालिकाका लेखा अधिकृत प्रकाश योङहाङ्गले बताउँनुभयो । यसका वारेमा पालिकाले कार्यपालिकामा छलफल हुने योङहाङ्गले बताउँनुभयो ।

सम्बन्धित खबर