Kanakai Online

प्रतिनिधिसभा सदस्य साँबाले हलो जोतेरै मनाए असार १५


शनिवार, असार १६, २०८० |

कनकाई अनलार्ईन
असार १५ गते झापासहित देशका विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइएको छ। यो असार १५ मा मेसिनको प्रयोग तथा प्रदर्शनी मुख्य आकर्षणको रुपमा रहेको पाइएको थियो।

झापाको क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बूले शिवसताक्षी गाँउपालिकाको पाँचगाछीमा हल गोरुले पटा लगाएर अर्थात् खेत सम्याएर रोपाइँका लागि जग्गा तयार बनाउनुभयो। धान दिवस मनाउनका लागि खेतमा नै नपस्ने नेता देखेका स्थानीय केही समय रमिते बने। अन्य क्षेत्रमा असार १५ फोटो खिच्न र टिकटक बनाउनका लागि खेतमा नेताहरु पस्ने गरेकोमा झापा ४ का यी माननीयको काम गराइपछि भने स्थानीय दंग पनि परेका थिए ।

परम्परागत रुपमा खेतबारी जोत्न प्रयोग हुँदै आएको हल गोरु र राँगा भने विस्थापित भइसकेको अवस्था छ। ‘‘हामी हुर्केको हलगोरु र राँगा नै जोतेर हो’’, प्रतिनिधि सभा सदस्य साँवाले भन्नुभयो। गोरुलाई मेलोमा लगाउनका लागि बिर्सेको रहेनछ तर दाउनलाई हम्मेहम्मे पर्यो, उहाँको अनुभव थियो। गोरु नार्दा अनुभव उहाँलाई राम्रैसँग थाहा भएकाले खेतमा पसेर पटा लगाउन उहाँलाई समस्या परेन।

साँवा लिम्बूले नागरिकको मुख्य पेशा कृषि भए पनि त्यसमा लाग्ने आधारभूत कच्चा पदार्थ मल, बीउ, समयमा उपलब्ध नभएको गुनासो गर्दै प्रविधिलाई पनि आत्मसात् गरेर अघि बढ्नुपर्ने जनाउनुभयो। ‘‘हाम्रा परम्परागत चलनलाई पनि जीवन्त राख्दै आधुनिकता र प्रविधिलाई पनि अगाल्नुपर्छ’’, उहाँले भन्नुभयो।

जोत्ने, जमिन सम्याउने, आली लगाउने, बीउ राख्ने, छर्ने, रोप्ने, दाँइ हाल्ने कामका लागि कृषि मजदुरको अभाव हुँदै जाँदै यान्त्रिकरणमा किसानको आकर्षण बढिरहेको छ। यसले परम्परागत कृषि प्रणाली अंगाल्ने कार्य पनि कम हुँदै गएको छ। ‘यसरी मज्जाले गोरु र राँगा जोत्न बल भएको मान्छे हुनुपर्छ। अहिलेका युवाले यो काम गर्न सक्दैनन्’’, स्थानीय किसान भगवत निरौलाले भन्नुभयो।

अहिले गोरु र राँगा किनिनसक्नु महँगो भएको पनि उहाँले बताउनुभयो। ‘एक हल राँगा किन्नुपर्यो भने त एक लाखभन्दा बढी चाहिन्छ’, उहाँको भनाइ छ। ‘अनि पाल्न त्योभन्दा पनि महँगो पर्छ’, उहाँले भन्नुभयो। ‘गाउँमा ट्याक्टर बोलायो र एकैछिनमा खेतमा बाली लगाउने अवस्था बनाइदिन्छ’, निरौलाले भन्नुभयो।

परम्परागत कृषि प्रणाली हराउँदै जाँदा रोपाइँको रौनक नै हराउँदै गएको पुराना किसानको गुनासो छ। ‘केही वर्ष अघिसम्म वर्षायाम सुरु भएसँगै हलो,जुवा, हलगोरु, बाउसे र रोपाहार खेतमा हुँदा रोपाइँको चहलपहल रमाइलो रहन्थ्यो अहिले त यस्तो देख्न पनि छाडियो’, कमल ६ का छविलाल गुरागाईले भन्नुभयो।

मेसिनको प्रयोग तथा आधुनिकीकरण र काम गर्ने उमेर समूहका अधिकांश युवा पुस्ता विदेश पलायन भएपछि खेतमा धान रोपाइँका लागि हलोजुवा, हल गोरु र बाउसेको अभाव देखिँदै गएको छ। परम्परागत रुपमा खेती गर्दा लागत मूल्य धेरै नै हुने भएकाले पनि यो हराउँदै गएको छ।

सम्बन्धित खबर