Kanakai Online

६ महिनामा ५७ मानव अधिकार उल्लंघन घटनामा ५८ पिडित


बिहिवार, असार १४, २०८० |

ईश्वर थापा
धनकुटा जिल्लामा छ महिनाको अवधीमा ५७ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले बिहीबार सन् २०२३ को जनवरी १ देखि हालसम्म जिल्लामा ५७ वटा मानव अधिकार उल्लंघनका घटनामा ५८ जना पिडित भएको तथ्यांक सार्वजनिक गरेको हो। जसमा २ जनाको हत्या, झडपबाट २ जना घाइते, मोसो दलेर दुव्र्यवहार १ जना, बोक्सीको आरोप १ जना, कुटपिट १ जना, ३ बालिका सहित ७ जना बलात्कृत, बाल यौन दुव्र्यवहार २ जना, घरेलु हिंसा ४० जना, सार्वजनिक सेवाबाट बञ्चित १ जना, तलब नपाएको १ जना गरि ५८ जना पीडित भएको अभिलेख गरिएको छ ।


सन २०२२ भरिमा ७५ जना पीडित भएकोमा अहिले छ महिनाको अबधिमा ५८ जना पीडित भएको इन्सेक धनकुटा प्रतिनिधी ईश्वर थापाले बताउनु भयो । इन्सेक धनकुटाले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को लागि संकलन गरेको मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाको अर्धवार्षिक पूर्व समीक्षा गरेको जिल्ला प्रतिनिधी थापाले जानकारी दिनुभयो ।
पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रम धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, शसस्त्र प्रहरी बल नं. ६ गुल्म धनकुटाका प्रमुख डिएसपी दिपक बलामी मगर, जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्सपेक्टर मानप्रसाद श्रेष्ठ, हुसाडेक नेपालका अध्यक्ष सरोज भुजेल, गैरसरकारी संस्था महासंघ धनकुटा अध्यक्ष मिनप्रसाद सुवेदीले सबै पक्ष गम्भिर बनेमा मानवअधिकार संरक्षण हुने बताउनु भएको थियो।

सम्बन्धित खबर