Kanakai Online

बिर्तामोडमा मिटरव्याजी विमलीको घर कब्जामा लिएको विप्लव समुहको घोषणा


शनिवार, असार ९, २०८० |

कनकाई अनलाईन
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापा बिर्तामोडका मिटरब्याजी नबराज विमलीको घर कब्जामा लिएको जनाएको छ ।

महिनौंदेखि लघुवित्त, बैंक तथा बित्तीय संस्था र मिटरब्याजी विरुद्ध संघर्ष र चेतावनी दिँदै आएको उक्त पार्टीले आज विर्तामोडमा प्रदर्शन सहित विमलीको घर कब्जामा लिएको जनाएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इञ्चार्ज सुमनसिंहको नेतृत्वमा गएका नेता कार्यकर्ताहरुले विमलीको घरमा कालो ब्यानर राख्दै कब्जामा लिएको घोषणा गरेका छन् । विमलीको घरमा पुगेका उनिहरुले विभिन्न नाराबाजी समेत गरेका छन् ।

नवराज विमलीले सयौं जनतालाई घरबारविहीन बनाएको, जनतालाई चरम शोषण गर्दै आत्महत्या गर्न बाध्य पारेको, शक्तिको चरम दुरुपयोग गर्दै गुन्डा प्रयोग गरेर पीडितहरुलाई धम्क्याएको आरोप नेकपाले लगाएको छ । उनले लुटेका सबै सम्पत्ति फिर्ता नगरेसम्मका लागि उनको घर कब्जा गरिएको नेकपाले जनाएको छ ।

विमलीको घरमा ब्यानर राखेर घर कब्जा गरिएको घोषणा गर्दै उक्त पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंहले झापाका सबै मिटरब्याजीहरुलाई नेकपाले पटक–पटक सच्चिन र पीडितहरुबाट ठगी गरेको रकम फिर्ता गर्न विनम्र आग्रह गर्दै आफुहरुले समय दिएको तर मिटरब्याजीहरुले नटेरेका कारण पार्टीले उनिहरुको सम्पत्ति कब्जा गर्नुपरेको बताएका छन् ।

नेता सिंहले यो शुरुआत मात्रै भएको बताउँदै झापाका सबै मिटरब्याजीहरुले ठगी गरेको सम्पत्ति पीडितलाई फिर्ता गर्न आग्रह गर्दै सोझा जनतालाई शोषण गरेर आत्महत्या गर्न बाध्य तुलाउने कार्य नरोके आम जनताको माझमा मिटरब्याजीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । नबराज विमलीलाई पटकपटक जनता नठग्न, मिटरब्याजको कारोबार बन्द गर्न सम्झाए पनि दादागिरी शैलीमा जनतालाई शोषण गर्न नछाडेकाले निज विमलीको घर कब्जा गरिएको उक्त पार्टीका झापा जिल्ला सचिव सञ्जय सी ले बताउनुभयो । उहाँले झापाका सबै मिटरब्याजीहरुको लिस्ट पार्टीसँग रहेकाले कोही कसैलाई नछाड्ने चेतावनी दिएका दिनुभएको छ ।
केही महिना अगाडि मात्रै नेता सिंह सहितको टोलीले झापा जिल्ला प्रशासन कार्यलयसँग समेत यस विषयमा छलफल गर्दै प्रशासनले मिटरब्याजी, बैंक तथा वित्तीय संस्थाहरुको गुण्डाराज शैली नियन्त्रणमा नलिए पार्टीले नियन्त्रणमा लिने चेतावनी दिएको सो पार्टीका मेची ब्युरो इन्चार्ज सुमन सिंहले बताउँनुभयो ।
यता इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुरज कार्कीले २०÷२५ जनाको समुहले बिमलीको घरमा गई नाराजुलुस गरि ब्यानर र झण्डा गाडेको भन्ने खबर आएपछि प्रहरीले गएर शनिवारनै हटाइसकेको बताउँनुभएको छ ।

सम्बन्धित खबर