कनकाई अनलाईन
झापा जिल्ला वैदेशिक रोजगारीको खोजीमा जाने देशकै सबैभन्दा बढी बाहिरिनेमा परेको छ । यसरी झापा वैदेशिक रोजगारीमा जानेकाहरुको सुचीमा पहिलो नम्बरमा रहेको पाइएको हो ।
वैदेशिक रोजगारीमा जानेलाई परामर्श गरिरहेको सुरक्षित आप्रवास कार्यक्रम भद्रपुरको तथ्यले यस्तो देखाएको हो ।
चालु आर्थिक वर्षको पछिल्ला तीन महिनाको विवरण अनुसार झापाबाट रोजगारीका लागि विदेश यात्रा गर्नेको संख्या फागुनमा २७३५, चैत्रमा २८२३ र बैशाखमा २३१५ जना झापाली वैधानिक बाटोबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या रहेको छ, जुन देशकै सवैभन्दा बढी संख्या हो ।
झापाबाट रोजगारीका लागि प्रमुख गन्तव्य खाडी मुलुक देखिएको छ भने युरोप अमेरिका तथा अष्ट्रेलिया जाने कामदारको संख्या पनि बढ्दै गइरहेको पाइएको छ । यसैक्रममा वैदेशिक रोजगारीको नाममा झापामा ठगिने क्रम पनि बढेर गएको पाइएको सुरक्षित आप्रवाशनले जनाएको छ ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका भद्रपुर संयोजक फणिन्द्रप्रसाद दाहालका अनुसार कार्यक्रमले सूचनामा पहुँच, न्यायमा पहुँच, सीप तालिममा पहुँच, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श सेवा मार्फत वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सवलीकरण गर्दै आइरहेको छ । उनका अनुसार चालु आर्थिक वर्षमा २९ जना व्यक्तिलाई तालिम मार्फत सीपमा पहुँच प्रदान गरी वैदेशिक रोजगारमा जाने दक्ष कामदार बनाइएको छ भने ठगीमा परेका ११० जना मध्ये ३४ जना कामदारलाई न्यायमा पहुँच पुर्याउदा १६ लाख ९५ हजार रकम क्षतिपूर्ति भराइएको छ ।
राज्य पक्षले वैदेशिक रोजगारीलाई अपनत्व ग्रहण गर्न नसक्दा ठगी गर्नेहरू दिन दिनै बढ्दो रूपमा सक्रिय हुँदा सेवाग्राही मारमा परेका छन् । देश कै उच्च वैदेशिक रोजगार उत्पादक झापा जिल्लामा श्रम शक्तिको उचित व्यवस्थापन हुन नसक्दा काम खोज्दै विदेशिनेको संख्या बढिरहेको पाइन्छ ।