कनकाई अनलाईन
झापा, २ जेठ । मेची भन्सार कार्यालय काँकरभिट्टाले अम्रिसो निकासीमा यथार्थ मूल्य कायम गरेको छ ।
यसअघि व्यवसायीले अम्रिसोको कम मूल्य निर्धारण गरी निकासी गर्दै आएकोमा हाल बजार मूल्यकै आधारमा निकासी गर्ने गरिएको मेची भन्सार कार्यालयका भन्सार अधिकृत कमलप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
यसअघि ‘अन्डर इन्भ्वाइसिङ’ गरेर अम्रिसो निकासी गर्दै आएको उहाँले बताउनुभयो । “७० रुपैयाँमा कायम गरेर अम्रिसो निकासी गरिँदै आएको थियो”, उहाँले भन्नुभयो, “अहिले बजार भाउ बुझेर मात्र निकासी मूल्य कायम गर्ने गरिएको छ ।”
अम्रिसोको बजार मूल्य सरदर प्रतिकिलो रू १२२ रहेको छ । यथार्थ नराखे निकासी रोक्ने चेतावनी दिएपछि व्यवसायीले अहिले प्रतिकिलो रू १२० मूल्य राखेर उत्पत्तिको प्रमाणपत्र जारी गर्न थालेको कार्यालय प्रमुख रामप्रसाद रेग्मीले बताउनुभयो । स्वदेशी उत्पादनमा जिल्ला उद्योग वाणिज्य संघले उत्पत्तिको प्रमाणपत्र दिने भएकाले जति मूल्य राखेर ल्याइन्छ सोही मूल्यमा निकासी गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
व्यापारीले गतवर्ष पनि किसानबाट रू ११५ प्रतिकिलोले अम्रिसो किनेर मेची भन्सार कार्यालयबाट ४९ रुपैयाँ ६८ पैसा प्रतिकिलोका दरले भारत र बंगलादेश निकासी गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
स्थानीय व्यापारीले इलाम र पाँचथरका गाउँ–गाउँबाट संकलन गरेको अम्रिसो झापाको बिर्तामोड, धुलाबारी, मेचीनगरका व्यापारीलाई केही नाफा राखेर बेच्ने गरेका छन् । झापाका व्यापारीले सामान्य ग्रेडिङ र प्याकेजिङ गरेर पूर्वी नाका काँकरभिट्टाबाट भारत, बंगलादेश लगायतका मुलुकमा निकासी गर्ने गरेका छन् ।
अम्रिसोलाई गुणस्तरका आधारमा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा छुट्याइन्छ । ग्रेडअनुसार मूल्य तोकेर निकासी गर्ने गरिएको छ । यसरी निकासी हुने कृषि वस्तुका लागि एउटा प्रज्ञापन पत्रमा ११३ रुपैयाँ भन्सार सेवा शुल्कबाहेक केही पनि तिर्नु पर्दैन । व्यापारीले स्वयम् घोषणा गरेको मूल्य नै भन्सार कार्यालयका लागि अन्तिम मूल्य हुन्छ ।
स्वयम् घोषणा गर्ने मूल्य व्यवसायीकै संगठनहरु नेपाल उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सबाट निर्धारण हुन्छ । त्यसको पनि ९९ प्रतिशत उद्योग वाणिज्य संघले हेर्ने गर्दछ । निर्यात गरेको वस्तुमा कम मूल्यको बिल बनाउँदा व्यापारीले पाउनुपर्ने बिलबाहेकको पैसा विदेशबाट हुन्डी या अरु माध्यमबाट ल्याउनुपर्ने हुन्छ । यसले अनौपचारिक कारोबारलाई बढावा दिने जानकारहरु बताउन्छन् ।
ँ