कनकाई अनलाईन
दमक, असार १ गते । अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवि सहितका सवारी साधनहरू प्रहरीले नियन्त्रणमा लिएको छ । झापा अर्जुनधारा नगरपालिका वडा नं।४ टाङटिङ खोलाबाट बिहीबार बेलुका नम्बर प्लेट नभएको १ वटा जेसिवि सहित तीन वटा टिप्पर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।
नम्बर नभएको जेसेवि, मे।१ ख। ३१५५, प्र।१–०१–००१ क।९२४, मे।१ ख।२८४८ नं।को ३ वटा टिप्पर प्रयोग गरेर अवैध तवरले खोला उत्खनन गर्दै गरेको अवस्थामा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।
पक्राउ गरिएका सवारी साधनहरू आवश्यक कारबाहीको लागि अर्जुनधारा नगरपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जेठ मसान्तदेखि खोलामा उत्खनन् प्रतिबन्ध गरिएको हो ।
यसैगरी प्रहरीले बिहीबार झापाको भद्रपुर नगरपालिकाको देउनीया खोलामा अवैध उत्खनन गरेर खोलाजन्य सामाग्री बोक्न प्रयोग भएका चार वटा ट्याक्टर पनि नियन्त्रणमा लिएर नगरपालिकालाई बुझाएको थियो ।