Kanakai Online

विनोदको एकल लगानीमा रुपन्देहीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्दै


सोमवार, जेठ २९, २०८० |

कनकाई अनलाईन
काठमाडौं, जेठ २९ गते । सरकारले ठूलो धन राशि लगानी गरेका अधिकांश खेलकुद मैदान समयमा निर्माण हुन सकिरहेको छैन । तर, रुपन्देहीका विनोद कुँवरले एक्लो लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने अठोट गर्नुभएको छ ।

विनोदको एकल लगानीमा रुपन्देहीको तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बन्न लागेको हो । तिलोत्तमा नगरपालिकाको वडा नम्बर १७ दरखसवामा बन्ने ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ को सोमबार शिलान्यास गरिएको छ ।

क्रिकेट मैदानको तिलोत्तमा नगरपालिकाको प्रमुख रामकृष्ण खाँड, उपप्रमुख जागेश्वर देव चौधरी, सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा अधिकारी, नेपाल क्रिकेट संघ ९क्यान० का पूर्व सचिव प्रशान्तविक्रम मल्ल र नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचनले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

मैदान निर्माण गर्न ४० करोड रुपियाँ बजेट अनुमान गरिएको विनोदले बताउनुभयो । मैदान निर्माणका लागि दुई वर्ष अघिदेखि जग्गा खरिद प्रक्रिया सुरु गरिएको थियो । पौने ५ बिघा जग्गा किनेर मैदान निर्माणको प्रक्रिया अगाडि बढाइएकोमा थप जग्गा खरिदको प्रक्रिया जारी रहेको एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक समेत रहनुभएका विनोदले जानकारी दिनुभयो ।

यस मैदानमा दुई साताअघि देखि आठ सय ट्रक माटो हालेर जग्गलाई सम्याउने कार्य सम्पन्न भएको छ । मैदान निर्माणसँगै पहिलो वर्ष पाँच हजार दर्शक क्षमताको प्यारापिट बनाइने छ । प्रत्येक वर्ष पाँच पाँच हजार क्षमताको दरले निर्माण गरिँदै आगामी चार वर्षभित्रमा २५ हजार दर्शक क्षमताको बनाइने एक्स्ट्राटेक ओभल प्रालिको योजना छ ।

विनोदले भरतपुरमा मैदान बनाउन नसकेको कुरालाई ध्यानमा राखेर आफूले मैदान निर्माणका लागि आवश्यक रकम सुनिश्चित गरिसकेको बताउनुभयो । क्रिकेट मैदानमा होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर रहनेछ । रङ्गशाला कम्पाउन्डमा चार तलाको भवन बनाएर एक सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिने योजना विनोदको छ ।

यस क्रिकेट मैदानको स्वामित्व समेत एक्स्ट्राटेक ओभल प्रालि र यसका निर्देशक विनोदमा निहित रहने बताइएको छ । एक्स्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आईटी ट्रेनिङ इन्सिच्युट हो । पूर्व खेलाडी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बेस्डरसमेत रहनुभएको छ ।

एकेडेमी र ट्रेनिङ सेन्टर जिम्मेवारी शक्तिलाई नै दिने बताइएको छ । मैदान रेखदेखसहित क्युरेटरको जिम्मेवारी माधव पाठकले निर्वाह गर्नुहुनेछ । माधवले लामो समय संयुक्त अरब इमिरेट्स ९यूएई० मा बसेर अवुधाबीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा क्युरेटरको भूमिका समेत निभाउनुभएको थियो ।

सम्बन्धित खबर