कनकाई अनलाईन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन० ले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेपछि केही स्थानीय तहका जनप्रतिनिधिले पनि त्यही सिको गर्न थालेका छन् । मेयर बालेनले उक्त नक्सा राखेको एक साता बित्न नपाउँदै अन्य जनप्रतिनिधिहरुले पनि आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका हुन् ।
मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले आफ्नो कार्यकक्षको भित्तामा ‘ग्रेटर नेपाल’ को नक्सा झुण्डाएका छन् । भित्तामा राष्ट्रपति रामचन्द्र पौडेल र निशान छापको बीचमा नक्सा राखिएको छ ।
त्यस्तै, झापाको दमक नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भीमप्रसाद पौडेल र बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष लवराज खरेलले पनि ‘ग्रेटर नेपाल’ को नक्सा भित्तामा टाँगेका छन् ।
भारतको नयाँ संसद् भवनको काठमा कुँदिएको ‘अखण्ड भारत’ को नक्सामा नेपालका भूभाग समेत समावेश गरिएको विरोधमा उक्त नक्सा राखिएको वडाध्यक्ष लवराज खरेलले बताए । लुम्बिनी र कपिलवस्तुलाई समेटेर भारतले इतिहासमै नभएको नक्सा बनाउँदासमेत कसैले बोल्ने आँट नगरेकाले स्थानीय तहबाट विद्रोह शुरु गरिएको उनको भनाई छ ।
उनले जनसमुदायबाटै भारतले गरेको कार्यको विरोध हुनुपर्ने बताएका छन् । वडा कार्यसमितिको निर्णयपछि उक्त नक्सा राखिएको वडाध्यक्ष खरेलले बताए ।
‘भारतले इतिहासमै नभएको काम गरेपछि हामीले विरोध गरेका हौं । नेपालको भूभागलाई भारतले आफ्नो नक्सामा समेट्न मिल्छ रु छिमेकीले मुलुकको भूभाग लगेर आफ्नो नक्सामा समेटिसक्यो, कसैले बोल्ने आँट नै गर्दैन । त्यसकै विरोधमा वडा कार्यसमितिको बैठक बसेर ग्रेटर नेपालको नक्सा राखेका हौं’, उनले भने ।
भारतले ‘अखण्ड भारत’ को नक्सा सार्वजनिक गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ । उक्त नक्साबाट नेपाली भूमि हटाउन माग गर्दै विद्यार्थी संगठनहरुले यसअघि विरोध प्रदर्शनसमेत गरेका थिए ।