कनकाई अनलाईन
झापाको बिर्तामोडमा आयोजित प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा आयोजक टिम मदन भण्डारी स्पोर्टस एकेडेमी ५ स्वर्ण र २ रजत जित्दै टिम च्याम्पियन बनेको छ ।
साथवटा प्रदेश र आयोजक समिति गरी आठ टिम सहभागी रहेको प्रतियोगितामा एकेडेमीले ५ स्वर्ण र २ रजत पदक जित्दै च्याम्पियन बनेको हो ।
आइतवार भएको फाइनल खेलमा आयोजक टिमका पुरुषतर्फ ५० केजी तौल समूहका आशिष उप्रेती, ६७ केजी तौलका दिपक कोइराला, महिलातर्फ ४० केजीकी राजुरानी अधिकारी, ५० केजीकी मनिषा ढुंगाना र ६१ केजीकी पूजा चौधरीले स्वर्ण पदक जित्नुभयो ।
त्यसैगरी, ४५ केजी तौल समूहकी प्रियंका राई र ६५ केजी माथिकी मेनुका मगरले रजत पदक जित्नुभएको थियो ।
दोस्रो हुने बाग्मती प्रदेशले ५ स्वर्ण र २ कास्य पदक हात पारेको छ । बाग्मतीका पुरुषतर्फ ६० केजी तौल समूहका अनिल उपरकोटी, महिलातर्फ ४५ केजी तौलकी जमुना तामाङ, ५५ केजी तौल समूहकी सञ्जीवनी कार्कीले स्वर्ण पदक जितेको छ भने बाग्मतीको बाकी २ स्वर्ण काताबाट जितेको हो ।
प्रतियोगितामा २ स्वर्ण र १ कास्य जितको गण्डकी प्रदेश तेस्रो भएको छ ।
गण्डकीका ५५ केजीका अंकित गुरुङ र ७५ केजी माथिका सजल बुढाथोकीले स्वर्ण पदक हासिल गर्नुभएको थियो ।
प्रतियोगिताको चौथो स्थान कोशी प्रदेशले प्राप्त गरेको छ । कोशी प्रदेशले १ स्वर्ण, चार रजत र दुई कास्य पदक जितेको हो । कोशीका ७५ केजी तौल समूहका राजीव खड्काले स्वर्ण पदक जित्नुभएको हो ।
लुम्बिनी प्रदेशले १ स्वर्ण र ३ रजत जित्दै पाँचौँ स्थानमा रहेको छ । लुम्बिनीका ६५ केजी तौल माथिकी दिया थापाले स्वर्ण जित्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशले १ स्वर्ण, २ रजत र ६ कास्य पदक जित्दै छैटौँ स्थानमा रहेको छ । सुदूरपश्चिमका ४५ केजी तौल समूहका प्रेम कार्कीले स्वर्ण हात पार्नुभएको थियो । प्रतियोगितामा ३ रजत र ३ कास्य जित्दै मधेस प्रदेश सातौ र र कर्णाली प्रदेश सातौँ र १ रजत र १ कास्य जित्दै कर्णाली प्रदेशले आठौँ स्थानमा रहेको छ ।
प्रतियोगितामा स्वर्ण पदक जित्नेले १० हजार, रजत पदकलाई ७ हजार र कास्य पदक पाउनेले ५ हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन । प्रतियोगिताको उदघाटन सभामुख देवराज घिमिरेलले गर्नुभएको थियो ।
प्रतियोगितामा महिलाहरुको ९ इभेन्ट र पुरुषहरुको १० इभेन्ट गरी १९ वटा इभेन्टमा खेल भएका थिए ।