Kanakai Online

कोशीमा नयाँ सरकार बन्छ, मध्यावधिमा जान दिइन्नँ यादव


बिहिवार, जेठ २५, २०८० |

कनकाई अनलाईन
काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा नयाँ सरकार बन्ने बताएका छन् ।

माओवादी केन्द्र र जनता समाजवादी पार्टी बाहिरिएपछि कोशीमा एमालेका हिक्मतकुमार कार्कीलाई ३० दिनभित्र प्रदेशसभामा बहुमत देखाउनुपर्ने चुनौती छ ।

नयाँ सरकारको गृहकार्यमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई पनि बहुमत जुटाउन कठिन छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । सरकारमा रहेका दल एमालेसँग ४० र राप्रपासँग ६ जना सांसद छन् ।

नयाँ सरकार गठनको तयारीमा रहेका कांग्रेससँग २९, माओवादी केन्द्रसँग १२, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ जना मात्र सांसद छन् । दुबै पक्षसँग ४६÷४६ सांसदको समर्थन छ । माओवादी केन्द्रबाट निर्वाचित भएका बाबुराम गौतम सभामुख भएकाले उनी तटस्थ भूमिकामा छन् ।

यस्तो बेलामा कोशीमा अहिलेकै सरकार कायम रहन्छ, नयाँ सरकार बन्छ वा सरकार बन्न नसकेर प्रदेशसभा विघटन हुन्छ भन्ने आशंका छ । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा सहज रुपमा सरकार बन्ने दाबी गरे । उनले प्रदेशसभा विघटन हुन नदिने पनि जिकिर गरे ।

‘प्रदेश १ मा नयाँ सरकार बन्छ । मध्यावधिमा जाने अवस्था आउँदैन्, त्यस खालको वातावरण बन्न दिइनेछैन’, अध्यक्ष यादवले भने ।