कनकाई अनलाईन
झापाको बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत रहेको प्रकाश आयल ट्रेडर्सको पेट्रोलमा पानी मिसावट भेटिएपछि प्रहरी र नेपाल आयल निगमले तालाबन्दी गरेको छ ।
पेट्रोल हालेका सवारीसाधनहरु नकुदेपछि सवारीधनीहरुले मंगलवार साँझ पम्पमा आएर विवाद गरेका थिए ।
ग्राहकहरुले पेट्रोल पम्प तोडफोड गर्न खोज्दा भीडलाई हटाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख डीएसपी सुरज कार्कीले बताउँनुभयो ।
त्यसपछि प्रहरी, जनप्रतिनिधि र नेपाल आयाल निगम चारआली साखाले सो पेट्रोल पम्प बन्द गराएको हो । त्यस पम्पमा तेल हालेका धेरै अटो र मोटरसाइकल नचलेपछि ग्राहकहरु आक्रोशित भएका थिए । पेट्रोल हेर्दा मिसावट सोझै देखिएपनि त्यो पानी हो या अन्य कुरा हो भन्ने यकिन गर्न भने नसकिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख कार्कीले बताउँनुभयो ।
पम्प तोडफोड हुन लागेपछि हामीले सुरक्षाका लागि पनि ताला लगायौ कार्कीले भन्नुभयो ।
यसवारेमा नेपाल आयाल निगम चारआली साखाका लेखा अधिकृत सालिक बुडाथोकी सहितको टोलीले पम्पमा पुगेर शिल गरेको छ । पम्पमा समस्या देखापरेको खबर पुगेपछि राती ९ बजे आयल निगमको टोली पम्पमा पुगेर शिल गरेको आयल निगम चारआलीका लेखा अधिकृत सालिक बुडाथोकीले बताउँनुभयो । हामीले सामान्य परिक्षण यहिबाट गर्ने छौ थप परिक्षण गनुपर्ने आवश्यकता भएमा काठमाण्डौ सिनामंगलस्थित केन्द्रिय ल्यावमा पठाउँछौ त्यसपछि तेलमा कुन तहसम्मको मिसावट भएको हो थाहा हुन्छ बुडाथोकीले भन्नुभयो । रातीको समय र सुरक्षाका कारणपनि राती पम्पमा मुचुल्का लगायातका कामहरु गर्न नपाएकोले बुधवार ९ बजेबाट पम्पमा बाकी मुचुल्का लगायातका कामहरु गरिने समेत बुडाथोकीले बताउँनुभयो । सुरुवाती अनुसन्धानबाट तेलमा मिसावट देखिएको र यसवारेमा थप कुरा अनुसन्धान र ल्याव रिर्पोट आएपछि थाहा हुने आयल नियमका बुडाथोकीले बताउँनुभयो ।
जिल्ला प्रशासन कार्यालय झापाका सहायक जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले यसअघि समेत यस पम्पमा पटक पटक समस्याको गुनासोहरु आउने गरेकोमा यसपटक भने तेलमा पानी मिसाएकै जनगुनासो आएपछि छानविन थालिएको बताउँनुभयो । पहिले पनि तेल कम दिने गरेको लगायातका जनगुनासाहरु आउने गरेको थियो यस पटक भने तेलमै मिसावट देखिएको कुरा आएको छ यसवारेमा थप अनुसन्धान हुन्छ न्यौपानेले गोरखापत्रलाई भन्नुभयो । झापाको बिर्तामोड मुक्तिचोकबाट ४ किलोमिटर दक्षिण भद्रपुररोडमा सञ्चालनमा रहेको प्रकाश आयल ट्रेडर्समा इन्धन भर्ने सवारी साधनहरुमा समस्या आएपछि होहल्ला भएको थियो ।
स्थानीय आकाश राजवंशीले आफुले मोटरसाईकलमा फुल टेङ्की तेल भरेर ५०० मिटर नकुद्धै इञ्जिन बन्द भएपछि ट्याङ्गी खोलेर हेदा पानीमात्र भएको बताउँनुभयो । राजवंशीले मोटरसाइकल पम्पमा नै फिर्ता ल्याएर मिस्त्री बोलाएर खोल्दा सबै पानीमात्र निस्किएको समेत देखाउनुभएपछि पम्पमा थप होहल्ला भएको थियो ।
बिर्तामोड–३ का डम्बर बस्नेतले ३ दिनअघि सो पम्पमा १ हजार रुपैँयाको पेट्रोल हालेर पम्प बाहिर निस्कनसाथ मोटरसाईकल समेत बन्द भएको गुनासो गर्नुभयो ।
यता पम्पका संचालक प्रकाश सरियाले भने आफ्नो पम्पमा समस्या भएको स्वीकार गर्दै पेट्रोलमा पानी आफुले मिसावत नगरेको बरु तेलको टेङ्कीमा पाईपमा वा अण्डरग्राउण्ड ट्याङ्गीमा लिकेज भएको हुनसक्ने बताउँनुभयो । पम्पमा समस्या देखापरेको छ यसलाई हामी सच्याउँछौ सरियाले भन्नुभयो ।
पीडितहरुको तेलकै खरावीका कारण सवारीहरुमा समस्या भए सो को समाधान पम्पले नै खोज्ने सरियाले बताउँनुभएको छ ।
तस्वीर ः तेलमा समस्या देखापरेपछि बन्द प्रकाश पेट्रोल पम्प र मोटरसाईकलबाट निकालिएको तेल