कनकाई अनलाईन
नेपाल भारत मैत्री संघ उपशाखा सुरुङ्गाले कनकाई नगरका २ संस्थागत विद्यालयहरुमा आयोजना गरेको आखा शिविरमा १६ सय वढी विद्यार्थीको निशुल्क आखा जाँच गरेको छ ।
मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा संचालन भएको तीन दिवसीय आँखा जाँच कार्यक्रमबाट स्थानीय पशुपति अंग्रेजी मावि सुरुङ्गा र पाथिभरा एकाडेमी लक्ष्मीपुरमा गरि १६ सय बढी विद्यार्थी साथै शिक्षक कर्मचारी लाभान्वीत भएको संस्थाका अध्यक्ष अर्जुन बोहोराले बताउँनुभयो ।
आखा शिविरको समापन कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिका समेतको सहकार्यमा यस क्षेत्रका सबै विद्यार्थी र नागरिकहरुको आखा जाँच गराउने अभियाननै संञ्चालमा ल्याइने जानकारी दिनुभयो ।
पशुपति मावि सुरुङ्गामा नर्सरीदेखी कक्षा १० सम्म अध्ययनरत विद्यार्थी मध्ये ४९४ छात्रा र ४६३ छात्र साथै शिक्षक कर्मचारी सहित ११ सय बढीले सेवा लिएको कार्यक्रम संयोजक संस्थाकी उपाध्यक्ष कविता बस्नेतले बताउँनुभयो । त्यस मध्ये ६५ जनाको दृष्टि दोषको समस्या देखिएका कारण अवस्था हेरेर चस्मा उपलव्ध गराउँने साथै ५ जनालाई थप परिक्षणकालागी अस्पतालमा रेफर गरिएको मेची आँखा अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहोराले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले आँखा जस्तो संवेदनशिल अङ्गमा सानै उमेरमा समस्या देखिनु दुःखद भएको भन्दै यो सामाजिक समस्याका रुपमा जटिल बन्दै गएको बताए । प्रविधिका कारण पनि पछिल्लो समय वालवालिकाहरु आँखाको समस्याबाट पिडित बन्दै गएको भन्दै नगर प्रमुख पोखरेलले त्यस तर्फ हरेक अभिभावक सचेत हुनु पर्नेमा जोड दिए ।
पशुपति अंग्रेजी माविका व्यवस्थापन समिति अध्यक्ष पुण्यप्रसाद उप्रेती, विद्यालयका सम्पूर्ण शिक्षक, कर्मचारी साथै विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रममा प्रिन्सिपल एल.पी. उप्रेतीले मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको आँखा शिविरबाट विद्यालय परिवार लाभान्वीत भएको बताउनुभयो । आयोजक संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै विद्यालयका प्रिन्सिपल उप्रेतीले हरेक वालवालिकाले आँखा जस्तो संवेदनशिल अङ्गका विषयमा चनाखो हुनु पर्ने साथै समय समयमा परिक्षण गर्नु पर्ने बताउँनुभयो ।
उता लक्ष्मीपुरस्थित पाथीभरा एकाडेमीमा सम्पन्न भएको एक दिवसीय आँखा जाँच कार्यक्रममा ५८० विद्यार्थी लाभान्वीत भएको बताइएको छ । दुवै स्थानमा परिक्षण गरिएका अधिकांशको आँखा फुलो परेको, आँखाको ढकनी तल झर्ने साथै आँखा हल्लिने समस्या रहेको अस्पतालका अधिकृत युवराज बोहोराले बताउँनुभयो । पाथिभरा एकाडेमीमा सम्पन्न कार्यक्रममा कनकाई— ८ का वडाअध्यक्ष लिलाबहादुर कटुवालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पाथीभरा एकाडेमीका सिइयो श्रीकान्त थापा, चन्द्र चुडाल, विष्णु चुडाल, सुशील सुवेदी लगायत सहभागी थिए ।
संस्थाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्वका रुपमा शिक्षा, स्वास्थ एवं सांस्कृतिक संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको संस्थाका अध्यक्ष अर्जुन बोहोराले बताउँनुभयो । त्यस मध्ये यस संस्थाले विभिन्न समयमा देउसी भैली ,तिज मिलन कार्यक्रम ,रक्तदान ,अवलोकन भ्रमण गर्दै आएको बताइएको छ ।