Kanakai Online

चेन्चोले सिजन गुमाउने, साफकै लागि शंका


शुक्रवार, वैशाख १५, २०८० |

कनकाई अनलाईन
काठमाडौं ९हाम्रो खेलकुद० – मच्छिन्द्र फुटबल क्लबका फरवार्ड चेन्चो ग्याल्सेनले चोटका कारण सहिद स्मारक ए डिभिजन लिग २०७९ को बाँकी खेल गुमाउने भएका छन् ।

भुटानका राष्ट्रिय टोलीका फरवार्ड चेन्चोले बायाँ खुट्टामा चोट लागेपछि सिजन गुमाउने भएका हुन् । बायाँ खुट्टाको पैतालामा रहेको कान्छी औंला नजिकको मेटाटार्सल हड्डी भाँचिएपछि चेन्चोको खुट्टामा प्लास्टर गरिएको छ । थ्री स्टार क्लबविरुद्ध खेलका दौरान उनले चोट बोकेका थिए ।

चेन्चोले कम्तिमा ६ साता प्ल्साटर लगाउनु पर्ने भएको छ । त्यस्तै उनलाई मैदान फर्कन कम्तिमा २ महिना लाग्ने डाक्टरले बताएका छन् । क्लब प्रतिनिधिका अनुसार उनको प्लास्टर विहीबार सम्पन्न भएको र अब सिजन गुमाउने पक्का भएको छ ।

चेन्चोले लिगमा ७ खेल खेल्दै १ गोल र १ असिस्ट दिएका थिए । फ्रेन्ड्सविरुद्ध लिगको पहिलो गोल गरेका उनी खेलको प्लेयर अफ द म्याच समेत बनेका थिए । नेपालमै सम्पन्न थ्री नेसन्स कपपछि उनी मच्छिन्द्रमा अनुबन्धित भएका थिए ।

भुटानका कप्तान चेन्चो अब जुन तेस्रो साता हुने साफ च्याम्पियनसिपमा पनि उपलब्ध हुने वा नहुनेमा दुविधा छ । साफ जुन २१ जुन देखि ३ जुलाईसम्म भारतमा हुँदैछ ।

सम्बन्धित खबर