Kanakai Online

पहिचान पक्षधर ६ दलको एकता र भोली कोशी प्रदेश बन्दको घोषणा


शनिवार, फागुन २७, २०७९ |

कनकाई अनलाईन

पहिचानको आन्दोलनलाई सशक्त बनाउने भन्दै झापामा पुर्वमा आन्दोलनरत् पहिचानवादीहरुको ६ वटा पार्टी बीच झापाको बिर्तामोडमा एकता भएको छ । झापाको बिर्तामोडमा शनिबार(आज) भएको बृहत् छलफलपछि पार्टी एकीकरण भएको घोषणा गरिएको हो ।

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति लोसपा र किराँत लिम्बुवान प्रदेश नामाङकन अभियानबीच पार्टी एकीकरण भएको हो ।

एकीकृत पार्टीको नाम, झण्डा, ब्यानरका बिषयमा कार्यदलले निर्धारण गर्ने सहमति भएको संघीय लिम्बुवान पार्टी नेपालका कोषाध्यक्ष एलबी पालुङ्वाले जानकारी दिनुभयो । एकीकृत पार्टीको संयोजक भने जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा रहने सहमति भएको घोषणामा जनाइएको छ ।

अरु ६ पार्टीका अध्यक्ष तथा पदाधिकारीहरु सम्मिलित कार्यसम्पादन समिति गठन गरिएको छ । कार्यसम्पादन समितिबाट कार्यकारिणी परिषद निर्माण गर्ने सहमति भएको छ । कार्यकारिणी परिषदले जिल्लादेखि पालिकासम्म संयोजन समिति गठन गर्नेछ ।

एकीकृत पार्टीले बिचार, सिद्वान्त र मुद्दा मिल्ने दलहरुसँग एकताका लागि राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशब सुर्यबंशीको सयोजकत्वमा वार्ता समिति गठन गर्ने जनाइएको छ । एकताको सम्पूर्ण प्रक्रिया पूरा गरि आगामी ६ महिनाभित्र एकता महाधिवेशन गर्ने निर्णय भएको छ ।

एकता प्रकृयामा सहभागी भएका दलहरुबीच ७ बुँदे सहमति भएको छ । स्वशासनसहितको संघीय लोकतान्त्रिक बहुल राष्ट्र राज्य स्थापना गर्ने, राज्यका हरेक क्षेत्रमा जातीय जन संख्याका आधारमा समानुपातिक सहभागिता गराउने, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको सिद्वान्त लागू गर्ने, बहुलराष्ट्रवाद, स्वदेशबाद र सामुदायिक समाजवाद लागू गर्ने, नेपालको संविधान पुनर्लेखन गर्न दवाव दिने सहमति भएको छ । त्यसैगरि बिद्रोहमार्फत राष्ट्रियमुक्ति क्रान्ति सम्पन्न गर्ने, ६ वटै पार्टीसँग भएका सम्झौताहरु कार्यान्वयन गर्न दवाव दिने, कोशी प्रदेश नामाङकन खारेज गर्दै प्रदेश न १ को नामाङकनको लागि शसक्त दवाव दिने सहमति भएको कार्यक्रममा वितरित एकताको सहमति घोषणा पत्रमा उल्लेख छ ।

पूर्वमा आन्दोलनरत लिम्बुवानजन्य पार्टीबीच २०७१ चैत्रमा भेडेटारमा एकता भएको थियो । तर, त्यो एकता भने केही समयपछि बिभाजित बनेको थियो । पहिचानको आन्दोलन ससक्त बनाउन आइतवार बन्दको घोषणा गरेको संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष पालुङ्वाले बताउनुभएको छ ।

संयोजक के.पी. पालुङ्वाको अध्यक्षतामा भएको पार्टी एकता घोषणा कार्यक्रममा संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङ्वा, कोचिला सघर्ष केन्द्रिय समितिका संयोजक त्रिनारायण राजवंशी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी केन्द्रिय समिति अध्यक्ष रघुनाथ खम्बु, लिम्बुवान राष्ट्रिय समिति लोसपा अध्यक्ष भक्त खवास, किराँत लिम्बु्वान प्रदेश नामाङ्कन अभियान संयोजक प्रेमदिप थाम्सुहाङलगायले आ–आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा पार्टी एकीकरण घोषणापत्र राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव बिष्णु खाम्देनले बाचन गर्नुभएको थियो ।