Kanakai Online

झापाका सरकारी तथा संस्थान सवारी चालकले बुझाए सभामुख घिमिरेलाई ९ बुँदे ज्ञापनपत्र


मङ्गलवार, फागुन २३, २०७९ |

कनकाई अनलाईन
सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन झापाले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई नौ बुँदे ज्ञापन पत्र बुझाएका छन् । सभामुख घिमिरेलाई झापाको कनकाई नगरपालिकाले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रमको बीच चालक एशोसियसनका पदाधिकारीले ज्ञापनपत्र बुझाएका हुन् ।

सरकारी तथा संस्थानमा कार्यरत चालकहरूले चालकहरूको हकहित र संरक्षण, संवर्द्धनका लागि माग राख्दै सभामुख घिमिरेलाई जापनपत्र बुझाएका हुन् । एशोसिएसनले सवारी दुर्घटनामा परि अङ्गअङ्ग भएका चालकहरुलाई राज्य तथा सम्बन्धित कार्यालयले नहेरेको अवस्था, कार्यालय प्रमुखको सरुवा हुँदा तथा निर्वाचन पश्चात स्थानीय तह, प्रदेश र केन्द्रले सवारी चालकहरूलाई जिम्मेवारीबाट हटाउने जस्ता कार्य भइरहेको र त्यस्तो कार्य नगर्न ज्ञापन पत्रमा माग गरिएको छ ।

स्वीकृत दरबन्दी भित्र रहेका अस्थायी, करार र ज्यालादारी सेवामा सम्झौता गरि कामकाज गरि रहेका सवारी चालक कर्मचारीहरूलाई स्वत स्थायी गरिनु पर्ने, अस्थायी, करार र ज्यालादारीमा कार्यरत सवारी चालक कर्मचारीहरूलाई एक पटकको लागि उमेर हद नलाग्ने गरि स्थायी र स्तर वृद्धि गर्ने व्यवस्था गरिनु पर्ने, सवारी चालक कर्मचारीहरूलाई नेपाल सरकारबाट उपलब्ध गराउनु पर्ने, मासिक महँगी भत्ता उपलब्ध गराउनु पर्ने, जोखिम तथा जीवन बीमाको व्यवस्था गरिनु पर्ने, सञ्चय कोषको व्यवस्था गरिनु पर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी स्वीकृत दरबन्दी भित्र रहेका अस्थायी, करार र ज्यालादारी सेवामा कामकाज गरिरहेका चालक कर्मचारीहरूलाई सेवाबाट अवकाश हुँदा कम्तिमा सेवा अवधीको आधारमा उपदानको व्यवस्था गरिनु पर्ने, सरकारी तथा संस्थान सेवामा कार्यरत सावरी चालकहरूको अनिवार्य रुपमा बीमा गरिनु पर्ने, वर्षमा दुईपटक स्वास्थ्य परिक्षण तथा उपचारखर्चको व्यवस्था गरिनु पर्ने, चालकहरुलाई सार्वजनिक बिदा बाहेक मासिक २ दिन बिदाको व्यवस्था गर्नुका साथै उक्त बिदा सञ्चित रहेको अवस्थामा चैत्र महिनाको सो रकम भुक्तानी गर्ने व्यवस्था गरिनु पर्ने चालकहरूले माग अघि सारेका छन् ।

सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन जिल्ला समिति झापाका अध्यक्ष गणेश नेपाल, महासचिव भुपाल तामाङ, सचिव खेमराज नेपाल, कोषाध्यक्ष लीला बास्ताकोटी, संस्थापक सल्लाहकार रोहित कोइरालालगायतले सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् ।