Kanakai Online

कनकाईमा जारी महिला फुटबल प्रतियोगिताबाट आयोजक पुग्यो फाइनलमा


सोमवार, फागुन २२, २०७९ |

कनकाई अनलाईन

झापाको कनकाईमा जारी महिला फुटबल प्रतियोगितामा आज भएको पहिलो सेमीफाइनल खेलबाट आयोजक कनकाई महिला फुटबल क्लव फाइनलमा प्रवेश गरेको छ । कनकाई फुटलब क्लव यस प्रतियोगिताकै सर्वाधिक सफल टिम समेत हो ।

पारिजात महिला फुटबल क्लव सालबारीलाई ५—० को गोल अन्तरले पछि पार्दै आयोजकले फाइनलको यात्रा तह गरेको हो । कनकाई माविको खेल मैदानमा आज(आइतबार) सम्पन्न प्रतियोगितामा आयोजकका तर्फबाट जर्सी नं. ११ की अनिता लम्जेलले खेल सुरु भएको ६ मिनट र ४७औं मिनटमा एक÷एक गोल गरेर खेललाई प्रारम्भिक चरणबाटै अग्रता दिलाइन् । त्यसैगरी जर्सी नं.१५ की लक्ष्मी श्रेष्ठले समेत खेलको २१ औं र ३१औं मिनटमा गरी दुई गोल गर्न सफल भइन् भने जर्सी नं.१२ की ममता राउतले खेलको २४ औं मिनटमा एक गोल गरेपछि आयोजकका तर्फबाट पारिजातका विरुद्ध ५ गोल भएको आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवी थपलियाले जानकारी दिए ।

प्रतिायोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेकी आयोजककी खुस्मा राई प्लेयर अफ द म्याच घोषीत भएको अध्यक्ष थपलियाले बताए । उनलाई प्लेयर अफ दि म्याचको पुरस्कार नगद २ हजार पत्रकार महासका प्रदेश सदस्य लिलाराज झापालीले हस्तान्तरण गरे ।

खेल समापन भएपछि आजको उपविजेता टिम पारिजात महिला फुटबल क्लव सालबारीले आयोजक टिमका विरुद्ध प्रोटेस्ट हालेको बुझिएको छ । आयोजक टिमका चारजना खेलाडी सम्बन्धित पालिकाको नभएको दावी गर्दै पारिजातले सत्यतथ्य छानविन गरेर उचित निर्णय दिनकालगि अपिल गरेको बताइएको छ । आयोजक समितिका अध्यक्ष छवी थपलियाले प्रोटेस्ट परेका सबैजनाको आवश्यक कागजात आँफूहरुले प्राप्त गरिसकेको बताउँदै विधि र पद्धति भित्र रहेर कुनै पनि कुराको निर्णय गर्नु पर्ने भएकाले कागजातका आधारमा निर्णय हुने बताए ।

भोली सोमबार हुने दोस्रो सेमिफाइनल खेल जुनतारा महिला फुटबल क्लव खुदुनाबारी र भद्रपुर महिला फुटबल क्लव विच हुने आयोजक समितिले जनाएको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजना एवं कनकाई नगर खेलकुद विकास समिति सहआयोजक रहेको प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गते सम्पन्न हुने प्रतियोगिताको समापन समारोहमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानकी सचिव मान्ता खरेलले जानकारी दिएकी छन् ।

प्रतियोगितामा प्रथम हुनेले नगद ७५ हजार , दोस्रो हुनेले नगद ५० हजार पुरस्कार साथै दुबै टिमले शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । त्यसैगरी विधागत तर्फ उत्कृष्ट गोल किपर ,सर्वाधिक गोल कर्ता र प्लेयर अफ द सिरिजसहित जनही नगद ३ हजार प्रदान गरिने प्रतिष्ठानका उपाध्यक्ष हरिकुमार कार्कीले जानकारी दिए ।