Kanakai Online

मछिन्द्र फुटबल क्लव भद्रपुर झापा गोल्डकपको फाईनलमा


आइतवार, फागुन १४, २०७९ |

कनकाई अनलाईन
झापाको भद्रपुरमा जारी भद्रपुर गोल्डकपमा मछिन्द्र फुटबल क्लब फाईनलमा प्रवेश गरेको छ । आइतवार सम्पन्न दोस्रो सेमिफाईनल खेलमा विभागिय टिम सशस्त्र प्रहरी बलको टिमलाई १—० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले फाईनलमा उपाधि भिडन्तका लागि त्रिभुवन नेपाल आर्मीसगको भेट पक्का गरेको हो । फाइनल प्रवेशसँगै मछिन्द्रले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ ।

मछिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले निर्णायक गोल गर्नुभयो । खेलको १७ औँ मिनेटमा डिबक्सभित्र आन्दे्रस नियाको चलाखीपूर्ण पासलाई सदुपयोग गर्दै श्रेष्ठले जाली चुमाउनुभएको थियो ।
गत वर्षको लिग च्याम्पियन मछिन्द्रले गोल गरेपछि एपिएफ दबाबमा परेको थियो । पहिलो हाफमा मछिन्द्र एपिएफमाथि हाबी देखियो ।
खेलको २५ औँ मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङको फ्रिकिक प्रहार क्रसबार माथिबाट आकाशियो । खेलको ३५ औँ मिनेटमा सौरभ लिम्बूले डिबक्सभित्रबाट गरेको प्रहार एपिएफका गोलरक्षक अञ्जल श्रेष्ठको रोके ।
पहिलो हाफको अतिरिक्त समयमा एपिएफका सविन थापाको प्रहार क्रसबारमा ठोक्किएर बाहिरियो ।
दोस्रो हाफमा एपिएफले खेल सुधारेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा मछिन्द्रलाई एपिएफले दोस्रो हाफमा रोक्न सफल भयो । एपिएफले पाएको मौकाहरु सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाट बाहिरिनु पर्यो ।
आइतबारको खेलको प्लेयर अफ द म्याच मछिन्द्रका सुजल श्रेष्ठ घोषित हुदै नगद २० हजार पुरस्कार पाउनुभयो ।
फागुन ७ गतेदेखि सुरु भएको गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।