कनकाई अनलाईन
झापाको भद्रपुरमा जारी प्रथम भद्रपुर झापा गोल्डकप प्रतियोगितामा मछिन्द्र क्लब काठमाण्डौ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो । मछिन्द्रको जितका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर्तीमगरले गोल गर्नुभयो ।
खेलमा सुरुवाती अग्रता भने चर्च ब्वाइजले लिएको थियो । खेलको ५४ औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले सुरुवाती गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । अनन्तले गगनदीप सिंहको क्रसमा हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो ।
यद्यपि अन्तिम १० मिनेटमा लयमा फर्किएको मछिन्द्रले लगातार गोल फर्काएको थियो । मछिन्द्रले खेलको ८१ औँ मिनेटमा सुजल श्रेष्ठको लामो फ्रिकिक सोझै गोलमा परिणत हुदै खेल बरावरीमा पुगेको थियो ।
बराबरी गोलपछि उत्साहित मछिन्द्रका खेलाडीले लगत्तै खेलको ८६ मिनेटमा अर्को गोल थप्दै जित सुनिश्चित गरेका थिए । खेलको ८६ औँ मिनेटमा विमल घर्तीमगरले हेडरमार्फत गोल गर्दै मछिन्द्रको गोल अन्तर दोब्बर बनाउँनुभयो ।
मछिन्द्रले फाइनल प्रवेशका लागि अब एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगति संघ बंगलादेशबीचको विजेतासँग आइतबार खेल्ने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो ।
बुधबारको खेलको प्लेयर अफ द म्याच मछिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित हुदै नगद २० हजार पुरस्कार प्राप्त गर्नुभयो ।
आइतबारबाट सुरु भएको प्रथम भद्रपुर झापा गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका महासचिव जिवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् ।
उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।