कनकाई अनलाईन
झापाको भद्रपुरमा प्रथम भद्रपुर झापा गोल्डकपको उदघाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको छ ।
मेची रंगशाला भद्रपुरमा भएको खेलमा पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्सले उदघाटन खेलमा जित हात पारेको हो । जितसगै भद्रपुर क्वाटरफाइनल प्रवेश गरेको छ ।
भद्रपुरका लागि दुवै गोल विदेशी खेलाडीले गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलको ५५ औँ मिनेटमा आयोजकका तर्फबाट विदेशी खेलाडी स्टेफन समीरले गोल गरे । मेसुके ओलोमोउलेको पासलाई डिबक्समा रहेको स्टफनले गोलमा परिणत गरे । दोस्रो गोल ८० औँ मिनेटमा आयोजकका मेसुकेले गरे ।
खेलको सुरुवाती समयदेखि नै आयोजकले पाहुना टोली जयगाउँलाई दबाबमा राखेको थियो । यद्यपि पहिलो हाफमा आयोजकले गोल भने हुन सकेन । दोस्रो हाफमा आयोजकले जयगाउँको कमजोर डिफेन्सको फाइदा उठाउँदै आयोजक गोल गर्न सफल भएको थियो ।
पहिलो खेलको प्लेयर अफ द म्याच आयोजकका मेसुके घोषित हुदै नगद २० हजार नगद पुरस्कार पाएका छन ।
विजयी भएको आयोजक भद्रपुर ब्लेजर्स अब क्वाटर फाइनलमा मंलबार संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
संकटा बाई पाएर सिधै क्वाटरफाइनल प्रवेश गरेको छ । सोमबारको खेल विभागीय टोली नेपाल पुसिल क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने आयोजक भद्रपुर–झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आइतबारबाट सुरु भएको प्रथम भद्रपुर झापा फागुन १६ गतेसम्म हुनेछ । गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।
भद्रपुरस्थित ऐतिहासिक मेची रंगशालामा सुरु भएको गोल्डकपको उद्घाटन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले गर्नुभयो । उद्घाटन गर्दै लिङ्देनले मेची रंगशालाको अवस्था सुधारका लागि गोल्डकपको महत्त्वपूर्ण योगदान रहेको भन्दै मेची रंगशालाको विकासमा आफू सधैँ लाग्ने बताउनुभयो ।
गोल्डकप उद्घाटन समारोहमा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले मेची रंगशालाले खेलाडी उत्पादनमा ठूलो काम गरेको बताउनुभयो ।
फोटो ः आयोजक कालो जर्सी र जयगाउँ फुटबल क्लव एकआपसमा प्रतिस्पर्धा गर्दै