Kanakai Online

पृथ्वीनारायण शाहको शालिक बनाउने कनकाईका नगरप्रमुख सम्मानित


बुधवार, पौष २७, २०७९ |

दुर्गा भण्डारी

झापाको कनकाई नगरपालिका अगाडि गेटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पुर्णकदको शालिक बनाएको भन्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति झापाले सम्मान गरेको हो ।
३०१ औ पृथ्वी जन्म जयन्तीको अवशरमा झापा कनकाई नगरपालिका १ स्थित पृथ्वीनारायण शालिक परिषरमा राप्रपाले कार्यक्रमको आयोजना गरेको हो । राप्रपाका प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका प्रमुख राम थापा केन्द्रिय प्रवक्ता तथा प्रदेश सरकारका मन्त्री भक्ति सिटौला तथा राप्रपाका जिल्ला अध्यक्ष केशव ओझाले कनकाई नगरपालिका प्रमुख पोखरेललाई सम्मान गर्नुभएको हो । कार्यक्रममा बोल्दै विना विभागीय मन्त्री सिटौलाले राजा महाराजाहरुको शालिक ढालिरहेको वेलामा कनकाई नगरप्रमुखले पृथ्वीनारायणको शालिक बनाएर राष्ट्रनिमार्ताप्रति सम्मान गरेको बताउँनुभयो । सम्मान ग्रहणपछि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफुले पृथ्वीनारायण शाहको शालिक बनाउँदा धेरैले राजावादीको आरोप समेत लगाएको बताउँदै पृथ्वीनारायण शाहको राष्ट्र निर्माणप्रतिको योगदानलाई चिरस्थायी राख्नका लागि शालिक बनाएर हरेक बर्ष पृथ्वी जयन्ती समेत मनाउने निर्णय गरेको बताउँनुभयो ।
कनकाई नगरपालिकाको कार्यालय जाने बाटोमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक निर्माण गराएर पृथ्वीनारायण शाहको दिव्य उपदेश र नेपालीहरूलाई एकताको सूत्रमा बाँधिन प्रेरणा दिने तथा राष्ट्रिय अखण्डता र सार्वभौमिकताको भावना जीवित राख्न नगरपालिकाको तर्फबाट महान कार्य भएको भन्दै नगरप्रमुख पोखरेललाई राप्रपा झापाले सम्मान गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समितिको आयोजना र राप्रपा क्षेत्र नं. ४, कनकाई नगर समितिको संयोजनमा आयोजित कार्यक्रममा जिल्ला भरीबाट प्रतिनिधित्व गर्दै राप्रपाका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

विभिन्न जातीय झाँकी सहित आएका नेता तथा कार्यकर्ताहरूको सालिक स्थलमा बाक्लो उपस्थिति रहेको थियो ।

नेपाल सरकारले यस वर्ष पृथ्वी जयन्ती तथा एकता दिवसको दिन राष्ट्रिय सार्वजनिक बिदा दिएकोमा राप्रपाका नेताहरूले सरकारलाई धन्यवाद दिएका छन् । कार्यक्रममा भारतमा महात्मा गान्धीको फोटो पैसा तथा रुपैयाँमा राखिएको र नेपाली मुद्रामा पनि पृथ्वीनारायण शाहको फोटो राखिनु पर्ने माग राखेका छन् ।

बडामहाराज पृथ्वीनारायण शाहले नेपाल एकीकरणको बेला गरेको योगदानको बारेमा सीता–रमेश बहुमुखी क्याम्पस बुधबारेका प्रमुख, इतिहासकार गणेश निरौलाले चर्चा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रामकुमार थापा, विशेष अतिथि भक्तिप्रसाद सिटौला, कनकाई नगर प्रमुख राजेन्द्र कुमार पोखरेल, समाजसेवी शेरबहादुर थापा, राष्ट्रिय प्रजातान्त्रिक युवा संघ जिल्ला अध्यक्ष रामकुमार राईलगायतले मन्तव्य राखेका थिए ।

झापा क्षेत्र नं. ४ राप्रपा उपाध्यक्ष शारदा बुढाथोकीले स्वागत गरेको कार्यक्रमको सञ्चालन राप्रपा झापा सचिवालय प्रमुख कुमार थापाले गरेका थिए । कार्यक्रममा राप्रपाका प्रदेश सांसदहरु अम्बरबहादुर विष्ट, सविना बजगाई, राप्रपा कनकाई नगर अध्यक्ष इन्द्र रोक्का, क्षेत्रिय अध्यक्ष नारायण पोखरेल लगायातको आथित्यता रहेको थियो ।