कनकाई अनलाईन
तनहुँमा जिल्लामा अवैधरुपमा सञ्चालनमा रहेका २० क्रसर उद्योग बन्द गराइएको छ । पुस २० गते गृह मन्त्रालयले मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरे बमोजिम बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पुरानो मापदण्ड अनुसार दर्ता भएको र हालको मापदण्ड नपुगेकाले नवीकरण नभएका तथा अन्य मापदण्ड पालना नगरी सञ्चालनमा रहेका जिल्लामा सञ्चालनमा रहेका २० वटा क्रसर उद्योगमा ताला लगाइएको जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अनुगमन समितिका संयोजक शान्तिरमण वाग्लेले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी र १० वटै पालिकाको प्रमुखको सहभागितामा बसेको जिल्ला अनुगमन समितिको बैठकबाट मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्ने निर्णयअनुसार सबै क्रसर उद्योगमा ताला लगाएको समन्वय प्रमुख वाग्लेले जानकारी दिनुभयो ।
मन्त्रालयको परिपत्र प्राप्त गरेपछि पुस २१ गते जिल्लाका २० क्रसर उद्योग बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो ।
ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएकाले बन्द गरिएको उहाँले जानकारी दिनुभयो । दर्ता नै नगरी उद्योग पनि सञ्चालनमा रहेको खबर प्राप्त भएको र त्यस्ता उद्योगलाई खोजी भइरहेको गैरेले बताउनुभयो ।
जिल्लामा ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन र प्रशोधन कार्यमा संलग्न क्रसर उद्योग २० वटा रहेकोमा सबै प्रचलित कानुनविपरीत रहेको गैरे बताउनुहुन्छ । जिल्लामा सबैभन्दा धेरै शुक्लागण्डकी नगरपालिकामा १३ वटा क्रसर उद्योग रहेको यहाँबाट विदेश समेत निर्यात हुँदै आएकोमा सो कार्य रोकिएको सहायक प्रजिअ गैरेले जानकारी दिनुभयो ।
शुक्लागण्डकीको कोत्रेमा रहेको बालुवा नेपालकै सबैभन्दा उत्कृष्ट रहेकोले विदेशसमेत निर्यात हुँदै आएको गैरेले बताउनुभयो । भारतका अतिरिक्त कलकत्ताबाट समुद्री बाटो हुँदै कतारलगायतका देशमा कोत्रेको बालुवा निर्यात हुँदै आएको उहाँले जानकारी दिनुभयो । क्रसर उद्योग बन्द हुँदा विकास निर्माण प्रभावित हुने भएको छ । भण्डारण गरी राखिएको सामान समेत विक्री गर्न नपाइने भएकाले प्रभावित हुने अवस्था आएको हो । मापदण्ड पूरा गरेर सञ्चालन गरी समाधान गर्ने प्रयास भइरहेको सहायक प्रजिअ गैरे बताउनुहुन्छ । पृथ्वीराजमार्ग अन्तर्गतको पोखरा मुग्लिङ सडक फराकिलो पार्ने काम भने प्रभावित नहुने भएको छ । सडक विस्तारको कामको लागि आफ्नै क्रसर उद्योग सञ्चालनमा ल्याइएकोले प्रभावित नहुने गैरेले जानकारी दिनुभयो ।
२०७७ मा बनेको सरकारी मापदण्डअनुसार क्रसर उद्योग राजमार्ग, खोला वा नदी किनारबाट ५ सय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्त्वका स्थान तथा सुरक्षा निकायबाट २ किलोमिटर टाढा मात्र क्रसर उद्योग सञ्चालन गर्न पाइन्छ । पक्की पुलबाट ५ सय मिटर, अन्तर्राष्ट्रिय सीमाबाट २ किलोमिटर, वन तथा निकुञ्ज वा आरक्षण, घना बस्ती, हाइटेन्सन लाइनबाट २ सय मिटर, ऐतिहासिक ताल, तलैया, जलाशय र पोखरीबाट ५ सय मिटर तथा चुरे पहाडको फेदीबाट १ हजार ५ सय मिटर टाढामात्र क्रसर उद्योग स्थापना वा सञ्चालन गर्न सरकारले अनुमति दिएको छ ।
व्यवसायीले भने नयाँ मापदण्ड अनुसार क्रसर उद्योग सञ्चालन गर्न नसकिने बताएका छन् । क्रसर व्यवसायी निरज श्रेष्ठले तनहुँमा नयाँ मापदण्ड पालन गर्ने मिल्ने खालको भूगोल नै नभएको बताउनुहुन्छ । ‘कतै विद्यालय नजिक पर्छ, कतै वन जङ्गल नजिक पर्छ, कतै राजमार्ग नजिक पर्छ सबै मापदण्ड पुरा गर्न सक्ने अवस्था छैन यसले गर्दा व्यवसायीलाई मर्का परेको छ’ बन्दीपुर गाउँपालिका डुम्रे निवासी व्यवसायी श्रेष्ठले भन्नुभयो । जिल्लामा शुक्लागण्डकी नगरपालिकामा १३, आँबुखैरेनी गाउँपालिकामा ३, म्याग्दे गाउँपालिकामा ३ र बन्दीपुर गाउँपालिकामा एउटा क्रसर उद्योग सञ्चालनमा छन् ।