कनकाई अनलाईन
झापामा बढ्दो आत्महत्या दरलाई रोक्नका लागि आवश्यक योजना तथा कार्यक्रम ल्याउने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवम् प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताउनु भएको छ । उहाँले प्रहरीका सबै कार्यालयहरूलाई नागरिक मैत्री बनाउँदै तत्काल गुनासो सुनुवाइ गर्ने किसिमले विकास गर्ने पनि प्रतिबद्धता पनि जनाउनु भएको छ ।
एक साता अघि सरुवा भएर झापा आउनु भएका रेग्मीले नियमित कामहरूलाई निरन्तरता दिँदै आत्महत्या न्यूनीकरणलाई प्राथमिकताका साथ लिएर आफू अघि बढ्ने बताउनु भएको हो । मनोसामाजिक परामर्श अभियानलाई हरेक स्थानीय तहमार्फत टोल(टोलमा पुर्याएर आत्महत्या न्यूनीकरण गर्न सकिने पनि उहाँले बताउनुभयो ।
लागू औषध, चोरी तस्करी, राजस्व चुहावट लगायतको क्षेत्रमा मात्र होइन अब मानिसहरूलाई मर्नबाट कसरी जोगाउन सकिन्छ भनेर ध्यान दिने बेला भएको छ, उहाँले भन्नुभयो । झापा देशमै सबैभन्दा बढी आत्महत्या हुने जिल्लाहरूमा प्रमुख रूपमा आउँछ र यो कार्यलाई निरुत्साहित गर्न हामी सबै लाग्नुपर्छ, रेग्मीले भन्नुभयो ।
जिल्लामा आर्थिक वर्ष २०७८र०७९ मा ३११ जना र २०७७र०७८ मा ३३४ जनाले आत्महत्या गरेको प्रहरीको रेकर्डमा उल्लेख रहेको छ । यसै गरी २०७६र०७७ मा २२३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यही आर्थिक वर्षमा झापाको कचनकवलमा एउटै रुखमा ३ जना र केही दिन अघि चार आलिको जङ्गलमा २ जनाले आत्महत्या गरेका थिए ।
रेग्मीले प्रहरी कार्यालयमा आइपुगेको सेवाग्राही अलमलमा नपरी सेवा दिने अवस्था बनाउन सबै मातहतका प्रहरी कार्यालयहरूलाई निर्देशन दिइएको जनाउँदै सोही अनुसार हुने पनि बताउनु भयो ।