Kanakai Online

झापा कुवाडीमा निर्वाचन भइरहेको वेला बम बिष्पोट


आइतवार, मंसिर ४, २०७९ |

कनकाई अनलाईन

झापाको एउटा मतदान केन्द्रमा बम विष्फोट भएको छ ।
मतदान चलिरहेका बेला झापा क्षेत्रनम्बर ४ को प्रदेश १ अन्तर्गत झापा गाउँपालिका वडा नं २ स्थित कुवाडी देवी मावि मतदान केन्द्रमा बिहान ९ बजेर २० मिनेटमा सुतली बम विष्फोट भएको हो । मतदान गरिरहेको ठाउँबाट करिब ३० मिटर टाढा भएको बम विष्फोटबाट क्षति नभएपनि ठूलो आवाजका साथ बम पड्किएको झापा क्षेत्र नम्बर ४ का निर्वाचन प्रवक्ता बसन्त काफ्लेले बताउँनुभयो ।

विष्फोटपछि आधा घण्टा मतदान रोकिएको थियो । केहीबेर अघिबाट मतदान सुचारु भएको छ । कुवाडी देवी मावि झापा गाउँपालिकाकै सबैभन्दा बढी मतदाता भएको मतदान केन्द्र भएको काफ्लेले बताउँनुभयो । सुतली बम बिष्पोटबाट जमिनको भाग भत्क्रिएको छ । हाल उक्त मतदान केन्द्रमा थप सुरक्षाकर्मी परिचालन गरिसकिएको प्रहरीले जनाएको छ ।

यता झापाको तीनवटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

झापा क्षेत्र नं १ अन्तर्गत मेचीनगर नगरपालिका १४ को बालसुबोधिनी मावि केन्द्रमा ११ बजेदेखि मतदान रोकिएको छ । प्रदेश सभा सदस्य उम्मेदवारको मतपत्रमा एउटा चुनाव चिन्ह नभएपछि विवाद भएर मतदान रोकिएको र त्यसबारे आफूले विस्तृत रुपमा बुझ्ने प्रयास गरिरहेको जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिनुभयो । यता मतपत्रमा उम्मेद्धारको चिन्हनै नभेटिएपछि निर्वाचनमा खटिएको कर्मचारीलाई कार्वाहीको माग गर्दै मतदान हाल स्थगित गरिएको छ ।

त्यस्तै झापा क्षेत्र नं. ४ अन्तरगत शिवसताक्षी नगरपालिका १० स्थित बाल निकुञ्ज माविको (ग) मतदान केन्द्रमा मतदान स्थगित भएको थियो । प्रतिनिधिसभा सदस्यको मतपत्र मतदाताले समानुपातिक मतपेटिकामा खसालेपछि मतदान अवरुद्ध भएको थियो । सर्वदलीय छलफल गरी त्यहाँ मतदान सुचारु गरिएको नेपालले बताए । त्यस्तै मेचीनगरको सरस्वती आधारभूत विद्यालय मतदान केन्द्रमा पनि मतदान रोकिएको थियो । त्यहाँ पनि सुचारु गरिएको निर्वाचन अधिकारी नेपालले जानकारी दिनुभयो ।
यता झापा बिर्तामोडको देवी मावि केन्द्रमा एकजना मतदाताले मतपत्र च्यातेका छन् ।

आफ्नो उम्मेदवार कोही नभएको भन्दै उनले मतपत्र च्यातेका हुन् । मतपत्र च्यात्नेलाई १ लाखसम्म जरिवाना र २ वर्षसम्मको कैद हुन सक्ने कानूनी व्यवस्था छ । तर, देवी मावि मतदान केन्द्रमा मतपत्र च्यात्नेलाई कुनै कार्वाही गरिएको छैन । एकजना मतदाताले मतपत्र च्यातेको कुरा सुनेको तर पक्राउ नगरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताउँनुभयो ।
फोटो ः झापा ४ मा बम हानेर बनेको खाल्डो र निर्वाचन स्थल

सम्बन्धित खबर