कनकाई अनलाईन
बनियानी, कात्तिक २४ गते। झापा क्षेत्र नं २ मा यतिबेला चुनावी माहोल तातेको छ। प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै परिणाम आ–आफ्नो पक्षमा पार्न दलीय तथा स्वतन्त्र उम्मेदवारको चुनावी गतिविधिले यो क्षेत्रको चुनावी माहोल तातेको हो।
एकातर्फ नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० को तीन दलीय लोकतान्त्रिक वाम गठबन्धनले आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहेको छ भने अर्कोतर्फ नेकपा ९एमाले० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को गठबन्धनले चुनावी गतिविधिलाई अझ सशक्त बनाइरहेको छ।
राजनीतिक पृष्ठभूमिका दुई वटा गठबन्धन दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवार र पार्टी छाडेर बागी बनेका उम्मेदवार पनि चुनावी मैदानमा छन्। सँगै नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० ले पनि पहिलो पटक झापा २ मा आफ्नो उम्मेदवार खडा गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी पनि अबको पालो युवाको भन्दै जनताको मत बटुल्न घरदैलोमा छ। यी पार्टीसँगै अन्य दलका उम्मेदवार पनि आफ्नो चुनावी दौडमा व्यस्त छन्।
विशेषतः यो क्षेत्रमा प्रत्यक्षतर्फ तीन दलीय लोकतान्त्रिक वाम गठबन्धन र एमाले–राप्रपा गठबन्धनका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिन्छ। यद्यपि दुवै उम्मेदवारलाई जीत निकाल्न त्यति सहज देखिँदैन। दुवै उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ।
समानुपातिक मत बटुल्न र आफ्नो उपस्थिति जनाउन चुनावी मैदानमा धेरै दल छन्। हाल मूलधारको राजनीतिमा रहेका दलहरूप्रति जनताको वितृष्णा बढेको भन्दै आफ्नो दल र उम्मेदवारले जनमत पाउने अन्य दलको ठहर छ।
अर्जुनधारा नगरपालिका पूर्वनगरप्रमुख हरिकुमार राना लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ भने एमाले–राप्रपाबाट एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरे हुनुहुन्छ। राना एमाले परित्याग गरेर माओवादी केन्द्रको उम्मेदवार बन्नुभएको हो। एमाले त्याग्नुअघि राना र एमालेका उम्मदेवार घिमिरे सहकर्मी हुनुहुन्थ्यो।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुद्रप्रसाद गिरी, नेमकिपाबाट महेन्द्र खायमली, स्वतन्त्रमा अधिवक्ता भद्रप्रसाद नेपाल ९स्वागत नेपाल० र कांग्रेसबाट बागी कुमार भट्टराईले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ।
विकास र जनतासँग जोडिएका मौलिकतामा आधारित अवधारणासहित आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको उम्मेदवार राना बताउनुहुन्छ। जनताको हरेक समस्यासँग आफू जानकार भएको र स्थानीयवासीको सुख दुःखमा हातेमालो गरेकाले निर्वाचन परिणाम आफ्नो पक्षमा आउने रानाको दाबी छ।
झापा क्षेत्र नं २ मा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले आफ्नो प्राथमिकताको विषय फोहोर व्यवस्थापन भएको उहाँको भनाइ छ।
यता, एमाले–राप्रपाका उम्मेदवार घिमिरेले पदमा नबसे पनि लामो समयदेखि पार्टीमा आबद्ध भएर झापा २ का विकास निर्माण, सुशासनलगायतका क्षेत्रमा काम गर्दै आएको बताउनुभयो।
कांग्रेसबाट बागी उम्मेदवार बन्नुभएका भट्टराई जनताले पार्टीभन्दा पनि व्यक्ति हेर्न थालेको बताउनुभयो।
पद र शक्तिको दुरुपयोग नगर्ने, भ्रष्टाचार नगर्ने, स्वास्थ्य, शिक्षा, रोजगारलगायतका क्षेत्रलाई समेटेर १६ बुँदे प्रतिबद्धतासमेत उम्मेदवार भट्टराईले जनाउनुभएको छ।
झापा २ मा अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर १, २ र ३, बिर्तामोड नगरपालिकाको १ देखि ९ नम्बर वडा र कनकाई नगरपालिकाको ७ र ८ नम्बर गरी २५ वटा वडा छन्।
यो क्षेत्रमा ६६ हजार ६५७ पुरुष, ६७ हजार ४२९ महिला र पाँच जना अन्य गरी एक लाख ३४ हजार ९१ जना मतदाता रहेका छन्। उन्पचास मतदान स्थल र १२५ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा २५ वटा वडामध्ये १३ वटा वडा एमाले, ११ वटा वडा कांग्रेस र एउटा वडामा राप्रपाले जितेको छ। यो क्षेत्रमा कांग्रेस, माओवादी र समाजवादी वडाध्यक्षका उम्मेदवारले ३५ हजार ७८३ मत पाएका थिए भने एमालेका वडाध्यक्षका उम्मेदवारले ३६ हजार १५८ मत पाएका थिए। राप्रपाका वडाध्यक्ष उम्मेदवारले आठ हजार ३८ मत प्राप्त गरेका थिए।
२०७४ मा झापा २ प्रतिनिधिसभा निर्वाचनमा बामगठबन्धनले जितेको थियो । बामगठबन्धनका तर्फबाट एमालेकी पवित्रा निरौला खरेलले ४५ हजार ८१७ मत पाउनुभएको थियो भने कांग्रेसका उद्धव थापाले ३२ हजार ५० मत प्राप्त गर्नुभएको थियो।