Kanakai Online

बुद्ध एयरमा एक्लै यात्रा गर्ने यात्रु बनिन् लक्ष्मी


आइतवार, कार्तिक २०, २०७९ |

कनकाई अनलाईन
बिर्तामोड । के तपाईले कह्ल्यिै हवाइजहाजमा एक्लै यात्रा गर्नुभएको छ रु तपाईं हामी सामान्य परिवारका लागि हवाइजहाजमा एक्लै यात्रा गर्नु भनेको कल्पना भन्दा बाहिरको कुरा हो । तर, झापा भद्रपुर–८ की लक्ष्मी घिमिरे सापकोटाले भने हवाइजहाजमा एक्लै यात्रा गरेकी छिन् ।

सुन्दा अचम्म लाग्ने वा पत्याउनै नसकिने गरी उनले बुद्ध एयरको ७२ सिटे जहाजमा काठमाडौंबाट झापाको भद्रपुर यात्रा गरेकी हुन् ।
शनिवार बुद्ध एयरको काठमाडौंबाट भद्रपुर जाने निर्धारित ७ः२५ को वोर्डिङ पास लिएकी उनी एयरपोर्टको आन्तरिक टर्मिनल भवनमा समयमै पुगेपनि बुद्ध एयरको भद्रपुर काउन्टरका कर्मचारीले अन्य यात्रु नभएपछि पर्खन आग्रह गरेका थिए । अन्त्यमा अरु यात्रु नआएपछि डेढ घण्टापछि राती ९ बजेमात्र वुद्ध एयर एक्लो यात्रु सापकोटालाई बोकेर काठमाडौंबाट भद्रपुरको लागि उडेको थियो ।
एयरपोर्टको आन्तरिक टर्मिनल भवनमा रहेको बुद्ध एयरको भद्रपुर काउन्टरका कर्मचारीले अन्य यात्रु नभएपछि बोर्डिङ पास दिएर उनलाई सुरक्षा चेकजाँच गरेर वेटिङ रुमको गेटमा पुर्याएका थिए । सामान्य अवस्थामा वायुसेवा कम्पनीले यात्रुलाई ठूलो बसमा राखेर जहाजमा लैजाने गरेपनि उनलाई सानो गाडीमा राखेर जहाजतर्फ लगिएको थियो ।
जहाज चढेपछि ढोकामा रहेकी एयर होस्टेसले मन्द मुस्कानले स्वागत गर्दै ‘आजको भद्रपुर उडानमा तपाईं एक्लो यात्रु हुनुहुन्छ, तपाईंलाई स्वागत छ।’ भनेपछि उनी आफ्नै सिटमा बसेकी थिइन् । जहाज उडेपछि फुल प्यासेन्जर हुँदा एयर होस्टेसले जस्तो नियम परिपालना गर्थे, त्यस्तै गरेको , जहाजमा यात्रुको सुरक्षाका लागि उडान नियमअनुसार गरिने ‘एनाउन्स’हरू ‘सिटको पेटी बाँध्नुहोस्, जहाज यति मिटर उचाइमा छ, जहाज एयरपोर्टमा अवतरण गर्ने क्रममा छ, बाहिरको तापक्रम यति डिग्री छ, बुद्ध एयरमा यात्रा गर्नुभएकोमा धन्यवाद’ लगायत भएको उनले बताइन् ।
७२ सिटे जहाजको एक्ली यात्रु भएपनि आफूलाई पटक्कै डर नलागेको उनले बताइन् । उनले भनिन् – एक्लो यात्रुको रूपमा जहाजमा यात्रा गर्दा डर लागेन । यो मेरो जीवनकै अविस्मरणीय क्षण बन्यो। आफू एक्लै भएपनि त्यहाँका म्यागजिन, पत्रिका पढ्दै गर्दा कतिखेर भद्रपुर आइएछ पत्तै भएन । सिटमा बसेपछि एयर होस्टेसलाई फोटो खिच्न आग्रह गरेको उनले बताइन् । आफू महिनामा एक पटक जहाजमा काठमाडौंको यात्रा गरेपनि यस्तो यात्रा जीवनमा कहिल्यै नगरेको बताउँदे उनले पाँच हजार सात सय ५० रुपैयाँको टिकट काटेर जहाज चार्टड नै गरे जसरी एक्लै यात्रा गर्ने अवसर मिलेको जनाइन् । हुन त विश्वका धनाढ्यहरू आफ्नै निजी जहाजमा यात्रा गर्छन्, तैपनि उनीहरूसंग जहाजमा निजी सुसारेदेखि अंगरक्षकसम्म हुने गर्छन्। अझ ‘कमर्सियल फ्लाइट’मा एक्लो यात्री बन्नु कल्पनाभन्दा बाहिरको कुरा हो । यस्तो अवसर विरलै पाइने सुनेपनि आफूले त्यो अवसर पाउँदा अचम्मित भएको उनले बताइन् ।
बुद्ध एयरको इतिहासमै अहिलेसम्म एक हप्तामा तीन पटक एउटै यात्रु बोकेर उड्नु परेको पाइलट र एयर होस्टेसले सुनाएको उनले बताइन् ।
आफू सिटमा एक्लै बसेपछि एयर होस्टेसलाई फोटो खिच्न आग्रह गरी उक्त खिचेको फोटो फेसबुकमा गर्दा फोटो र स्टाटसले तरंग ल्याइरहेको उनले बताइन् । आफूलाई जिज्ञासा र वधाई दिनेको ओइरो लागेको बताउँदै उनले भद्रपुर एयरपोर्टमा उत्रिदा जहाजमा एक्लै यात्रा गर्ने भन्दै आफूलाई प्रत्यक्ष हेर्नेको भीड लागेको उनले बताइन् । उनी नेपाल पत्रकार महासंघ झापा शाखाको पूर्वअध्यक्ष तारामणी सापकोटाको धर्मपत्नी हुन् ।