Kanakai Online

‘भाइरल’ पुलको व्यथा


मङ्गलवार, कार्तिक १५, २०७९ |

कनकाई अनलाई
आइतबारदेखि सामाजिक सञ्जालमा एउटा फोटो ‘भाइरल’ भएको छ । आधा भत्किएको झोलुङ्गे पुलको बीचबाट पुलमा चढ्न मिल्ने गरी बनाइएको आकर्षक काठेपुल रमाइलो विषय बनेको छ ।

तर त्यस्तो पुलको दुःखको कथा अर्कै छ । कर्णाली प्रदेशको कालीकोट जिल्लाको जिते कर्णालीमा कर्णाली नदी तर्नका लागि स्थानीयले गरेको वैकल्पिक व्यवस्था यो पुल रहेको छ ।

गत असोज १९ यता लगातार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले उक्त पुल भत्काएको थियो । त्यही पुलबाट कर्णाली वारपार गर्न योग्य बनाउन सङ्घीय, प्रदेश र स्थानीय सरकार कसैको आँखा परेन ।

त्यसपछि स्थानीय नरजङ्ग मल्लको पहलमा काठको भ¥याङ निर्माण गरेर वारपार गर्न मिल्ने गरी वैकल्पिक पुल निर्माण भएको हो । बाढीपहिरोले पुलको आधा भागमा लट्ठाबाहेक सबै बगाएको थियो । पुलका लट्ठा मात्र बाँकी रहँदा पनि कसैको ध्यान नगएपछि आफूले नागरिकको सहज यात्राका लागि भ¥याङ भए पनि बनाएर आउजाउ गर्न सहज बनाइदिएको मल्लले बताउनुभयो ।

उहाँका अनुसार पुल नहुँदा नागरिक पैदल हिँडेर तिला नदीको पुल हुँदै लालीघाटको पुल तरेर जान बाध्य थिए । कोरिडोर खुलेको खण्डमा जितेको पुलको आवश्यकता हुन्छ तर बाढीले पुलको आधा भाग बगाएकाले आउजाउ गर्न नसक्ने अवस्थाको थियो ।

कात्तिक ४ गते बसेको विपत् व्यवस्थापन समितिको बैठकबाट जितेलगायतका तीनवटा पुलमा मानिस आउजाउ गर्न नसक्ने भएकाले तत्काल कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई मर्मतका लागि पत्राचार गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले मन्त्रालयलाई पत्राचार गरे पनि पुल बनाउन सुरसार नगरेका बेला सहयोगी मन भएका मल्लको अगुवाइमा वैकल्पिक पुल निर्माण भएपछि अहिले पैदलयात्रीलाई सहज भएको बताउनुभयो । दैनिक सयौँ यात्रुले ओहोरदोहोर गर्ने सो पुलको जितेगढा बजार क्षेत्रतर्फ नदीको बहावले गर्दा पुलमा लट्ठाबाहेक केही बाँकी नराखेपछि बाँकी खण्ड खाली छोडेर पुललाई भ¥याङको सहारा दिइएको छ । भ¥याङ बनेपछि यात्राका लागि सहजता आए पनि सम्बन्धित निकायबाट तत्कालै पुल मर्मत गरिनु आवश्यक रहेको स्थानीय बताउँछन् । सो पुलबाट कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचाल झरना गाउँपालिका, रास्कोट नगरपालिका, पलाता गाउँपालिकाका साथै बाजुरा, मुगु र हुम्ला जिल्लावासीले नियमित यात्रा गर्दै आएका छन् । यो भ¥याङ बनाउन व्यक्तिगत दुई लाख रुपियाँ खर्च गरेको नरजङ्ग मल्लले बताउनुभयो ।