कनकाई अनलाईन
झापा मेचीनगमा एमाले प्रवेश गरेको दुई दिन पनि नबित्दै नेकपा माओवादी केन्द्र झापाका चार जना नेता पुन आफ्नो पुरानै पार्टी माओवादी केन्द्रमा नै फर्र्किएका छन । मंगलबार संयुक्त विज्ञप्ति निकालेर माओवादी केन्द्र मेचीनगरका उपाध्यक्ष उत्तम सिटुङ, बेपत्ता परिवारका सदस्य निर्मला सुवेदी, युवा नेता निखिल पोखरेल र शहिद परिवार मनोज गुरागाईले आफुहरु माओवादी केन्द्रमै रहेको स्पष्ट पारेका हुन ।
‘हामीले दुःख, कष्ट र मेहनत गरेर निर्माण गरेको पार्टी नेकपा माओवादी केन्द्र हो,’ उनीहरुले निकालेको बिज्ञप्तिमा लेखिएको छ, ‘त्याग समर्पण गरेको पार्टी छोड्ने कुरै आउँदैन यस्तो सोच्न पनि सकिन्न ।’
एमालेले छलफल गर्न बोलाएर पार्टी प्रवेश गराएको हल्ला चलाएको माओवादीका नेताहरुको दाबी छ । उनीहरुले आफ्नो राजनितिक इमान्दारितामा प्रश्न चिन्ह खडा गर्न र बदनाम गर्न खोजेको माओवादी केन्द्रका एक नेताले बताउनु भयो । ति नेताका अनुसार माओवादीका नेता कार्यकर्ता पार्टी मै रहेको र सबै सत्ता गठबन्धन दलका उम्मेद्वारलाई विजयी गराउने अभियानमा सक्रिय रहेका छन ।
माओवादीका नेताहरु नेकपा एमालेमा प्रवेश गरेको भनेर आइतबार समाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । यसरी फलानो पार्टी प्रवेश भन्दै मिडियाबाजी गर्नेले मिडियामाथिनै भद्धा मजाक गरेको आरोप लाग्ने गरेको छ ।