कनकाई अनलाईन
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली राजनीतिमा जनताप्रतिको उतरदायी नेतृत्वका साथै बलियो राष्ट्रियताका लागि निष्ठाका खाँचो रहेको बताउनुभएको छ।
पार्टी कार्यालयमा बडादसैँ, तिहार, नेपाल संवत् र छठका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष लिङ्देनले मुलुकमा इमान र त्यागको राजनीतिले मात्र देश विकास र जनतालाई समृद्धिको बाटोमा लैजान सकिने बताउनुभयो।
उहाँले निकट भविष्यमा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा जनताले राष्ट्रवादी शक्तिलाई मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो। निर्वाचनमा जनताले गर्ने निर्णयबाट नेपाल र नेपालीको मुहार फेर्ने बताउँदै उहाँले चुनावको दिन राष्ट्र निर्माणमा ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताउनुभयो।
विजयादशमीका अवसरमा अध्यक्ष लिङ्देनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभयो।