कनकाई अनलाईन
झापा, असोज १३ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि झापामा आफ्ना उम्मेद्वार तय गरेको छ ।
रबि लामिछाने नेतृत्वको पार्टीले झापाका १,२,३ र ४ निर्वाचन क्षेत्रका लागि उम्मेद्वार टुंगो लगाएको हो । सो पार्टीका तर्फबाट झापा १ मा ओमनाथ भण्डारी, २ बाट रुद्रप्रसाद गिरी, ३ बाट प्रकाश पाठक र ४ बाट शम्भु ढकाल उम्मेद्वार बनेका छन् ।
क्षेत्र नम्बर ५ मा भने टुंगो लाग्न बाँकी छ । यद्यपि सो क्षेत्रबाट स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका कुमार कट्टेल जिक्रीलाई उम्मेद्वार बनाउने सो पार्टीको तयारी छ । झापाको चारवटा निर्वाचन क्षेत्रका उम्मेद्वार सर्वसम्मत चयन भएको जिल्ला सभापति उमेश खरेलले बताए । गत असार १७ गते घोषणा भएको यो दलले १ सय ६५ निर्वाचन क्षेत्रबाटै आफ्ना उम्मेद्वार उठाउने भएको छ । झापाका सबै पालिकामा समिति समेत गठन गरिसकेको रास्वपाले जिल्लामा चुनावी अभियान थालिसकेको छ ।