कनकाई अनलाईन
झापाको दमक नगरपालिकामा फोहोरबाट उत्पादित ग्यास तीन महिनादेखि खेर गइरहेको छ ।
नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट दैनिक १ हजार ६ सय केजी बायोग्यास उत्पादन गरिरहेको छ । २०७६ चैतदेखि निर्माण थालिएको प्लान्ट गत असार पहिलो सातादेखि सञ्चालनमा आएको हो । नगर क्षेत्रबाट दैनिक २० टन फोहोर निस्कने नगरपालिकाको वातावरण शाखाले जनाएको छ ।
त्यसमा करिब १४ टन कुहिने फोहोर हुन्छ । नगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा फोहोरबाट ग्यास उत्पादनको प्लान्ट राखिएको इनर्जी कम्पनीका अध्यक्ष युवराज घिमिरेले बताए । कुहिने फोहोरबाट बायोग्यास, ठोस मल र झोल मल उत्पादन गरिन्छ । उक्त प्लान्टमा कुहिने फोहोर दैनिक ३० टन प्रशोधन गर्न सक्ने क्षमता हो । पूणर् क्षमतामा चल्दा २२ सय केजी बायोग्यास, १० टन ठोस मल र ७ टन झोल मल निकाल्न सकिन्छ । ‘अहिले हामी १४र१५ टन फोहोर प्रशोधन गरिरहेका छौं,’ इनर्जी कम्पनीका प्रबन्ध निर्देशक विमल खतिवडाले भने, ‘यसबाट दैनिक १६ सय केजी बायोग्यास र करिब ५ टन ठोस मल उत्पादन भइरहेको छ ।’ उत्पादित बायोग्यास, ठोस मल र झोल मल उपभोग गर्न नसक्दा खेर गइरहेको हो । ‘दैनिक उत्पादन हुने बायोग्यास जलाएर नष्ट गरिरहेका छौं, पाइपलाइनमार्फत घरघरमा पुर्याउन सकियो भने १५ सय घरमा चुलो बाल्न सकिन्छ,’ अध्यक्ष घिमिरेले भने । नगर प्रमुख राम थापाले घरघरमा पाइप जडान गरेर ग्यास बाल्ने काम स्थानीय सरकारबाट सम्भव नरहेको बताए ।