कनकाई अनलाईन
आगामी मंसिर ४ गते हुनलागेको संघिय तथा प्रदेश सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ४ मा पुरानै अनुहारको तीव्र प्रतिस्पर्धा हुने भएको छ । केहि महिना अगाडि समेत पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा ४ मा प्रतिस्पर्धा गर्ने हल्ला चलेपनि ओलीले आफ्नै पुरानो किल्ला झापा ५ नछाडने बताएपछि झापा ४ मा यसअघिकै माननीय एलपीसाँबा लिम्बु र देउमान थेबेको प्रतिस्पर्धा हुने देखिएको छ । यसपटकको निर्वाचनमा पुराना बामपन्थी नेता युक्त भेटवालले समेत झापा ४ बाट उम्मेद्धारी दिने तयारी बुझिएको छ ।
भेटवालले स्वतन्त्र पार्टीबाट निर्वाचन लडने सम्भावना रहेको उहाँका निकतस्थहरुको भनाई छ । भेटवाल हाल आफ्ना पुराना नेता कार्यकर्ताको भेटघाटमा व्यस्त रहेका छन । भेटवाल गत २०५४ सालको आम निर्वाचनमा तत्कालिन नेपाली कांग्रेसका उम्मेद्धार चक्रप्रसाद वास्तोलासग झिनो मतअन्तर २६ मतले पराजित हुनुभएको थियो । यस मत गणनामा धाधली भएको भन्दै मुद्धा समेत परेको थियो तर यसको छिनोफानो नभई विजेता वास्तोलाको समेत निधन भईसकेको छ । कनकाई नगरपालिकाबाट स्वतन्त्र उम्मेद्धारी दिएर सम्मानजनक मत ल्याउनुभएका शेरबहादुर थापा सहितको स्वतन्त्र नागरिक पार्टीले हाल झापामा उम्मेद्धारी खडा गर्दै छ ।
रवि लामिछाने नेतृत्वको पार्टीसग तालमेल गरेर जाने यस पार्टीले निर्णय समेत गरिसकेको जनाएको छ । स्वतन्त्रबाट भेटवालले उम्मेद्धारी दिने भएपछि झापा ४ मा कम्तिमा त्रिपक्षिय भीडन्त हुने भएको छ । गठबन्धनबाट नेपाली कांग्रेसका देउमान थेबे र एमालेबाट हालका सांसद एलपी साँबा लिम्बुले यस क्षेत्रमा उम्मेद्धारी रहने पक्कापक्की जस्तै बनेको छ । तीनैजना उम्मेद्धारा आआफ्नो तयारीमा जुटेको पाइएको छ । यस क्षेत्रका अन्य दलहरु माओवादी, समाजवादी, राप्रपा लगायातका दलहरु भने पार्टीले तालमेल गर्ने भन्दै ढुक्कले बसेको पाइएको छ ।
यद्धपि झापा ४ को प्रदेश ख बाट माओवादी केन्द्रबाट हालका कृषि मन्त्री झलकसिंह दर्लामी मगरको उम्मेद्धारी रहने पक्का छ । प्रदेशमा समेत झापा ४ को प्रदेश क बाट कांग्रेस सहितको गठबन्धनबाट दर्लामी र एमालेबाट राधाकृष्ण खनालको सिफारिस भएको बताइएको छ । प्रदेश ख मा एमालेबाट गोकर्ण ओझा र गजेन्द्र ताम्लीको नाम चर्चामा रहेको छ । भने गठबन्धनबाट नेपाली कांग्रेसका एकराज उप्रेती तथा स्वतन्त्रबाट लक्ष्मी गुरुङ्ग र हेमराज बिमलीको नाम चर्चामा रहेको छ ।