कनकाई अनलाईन
जननेता मदन भण्डारीको हत्याको विरोधमा निस्किदा प्रहरीको गोली लागेर शहिद हुुनुुभएका झापा कनकाईका युुवा डिल्ली गौतमको स्मृतिमा आज सुरुङगामा रक्तदान र सम्मान कार्यक्रम गरिएको छ ।
डिल्ली गौतम स्मृति प्रतिष्ठानको २९ औ स्मृतिसभाको अवशरमा सम्पन्न रक्तदानमा ११ महिला सहित ४६ जनाले रक्तदान गरेका थिए ।
कनकाई उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न कार्यक्रममा शिक्षासेवी एवं साहित्यकार कोमलप्रसाद पोखरेल साथै झापा जिल्ला बार एशोसिएसनकी सचिव हेमकला कट्टेललाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी संघीय सांसद एल.पी. साँवालिम्बुु , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल लगायतले सम्मानित व्यक्तित्वलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुुभयो ।
प्रतिष्ठानका अध्यक्ष रवीन्द्र लम्सालको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीका रुपमा रहेका सांसद साँवाले समाजमा बेथिती, अन्याय र भ्रष्टाचारको जालो रहेसम्म शहीदको सपना साकार हुन नसक्ने बताए । समाज रुपान्तरणकालागि सामाजिक एकता अपरिहार्य रहेको भन्दै सांसद साँवाले कनकाईको सुरुङ्गामा शहीदसँग जोडिएको लक्ष्मी मार्ग सडक निर्माणमा ठेकेदार कम्पनी र सडक विभागबाट भएको लापरबाही शहीदप्रतिको अपमान भएको समेत बताउँनुुभयो ।
शहीदपत्नी देवका र आमा पुण्यवती गौतम लगायत परिवारजन साथै विभिन्न पार्टीका कार्यकर्ता तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा प्रतिष्ठानकी सदस्य मन्जु प्रसाईँले औचित्यसहित स्वागत मन्तव्य राखेकी थिइन् । सचिव विनोद रानामगरले सञ्चालन गरेको कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय कोमलप्रसाद पोखरेल र हेमकला कट्टेल, प्रजापति सामुदायिक वन समूहका अध्यक्ष दलवहादुर वि.क., नेकपा माओवादी कनकाईका अध्यक्ष यामनाथ सेड्याईँ लगायतले शहीदले देखाएको बाटोमा इमान्दारिताका साथ लाग्नुपर्नेमा जोड दिनुुभयो ।