कनकाई अनलाईन
झापमा एक बर्षको अवधिमा सवारी दुर्घटनामा परि ११६ जनाले ज्यान गुमाउनुुपरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार यस आर्थिक बर्षमा परि विभिन्न सडक दुर्घटनामा परि मानिसले ज्यान गुमाएका हुुन । जसमा सबैभन्दा वढी मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाउनु परेको छ ।
जसमा ५ जना बालबालिका सहित ९६ पुरुष र १५ जना महिलाले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा भने ९६ जनाको दुर्घटनामा परि ज्यान गएको थियो ।
यस अवधिमा २५४ जना सख्त घाइते, ७०२ जना सामान्य घाइते बनेका छन । आर्थिक वर्ष ०७८–७९ मा ५६ ट्रक, ३८ बस, १०२ जिपकार, ५५५ मोटरसाइकल, ३५ ट्याक्टर, ४९ टेम्पो, ६६ साइकल,ठेला र अन्य ११ गरी ९१२ दुर्घटनामा परेको रेकर्ड रहेको छ । अघिल्लो आर्थिक वर्षमा यो सङख्या १ हजार १ वटा रहेको थियो ।
झापा ट्राफिकले झापाका ७ ठाउँलाई अति दुर्घटनाग्रस्त क्षेत्र घोषणा गरेको छ । त्यसमा मेचीनगर–६ को पालिया पुल, मेचीनगर –१३ को चारआलीस्थित कालीझोडा, कनकाई–३ को जुके कल्भर्ट, शिवसताक्षी–१० को माइधार , शिवसताक्षी –२ को धरमपुर चोक, कमल–३ को सानो केर्खा र कलम–५ को पाडाजुँगी चौक रहेको छ ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आर्थिक वर्ष ०७८–७९ मा ३ करोड ३८ लाख २९ हजार राजश्व संकलन गरेको छ ।
सवारी कारवाहीबाट ट्राफिकले अघिल्लो आर्थिक वर्षभन्दा करिव ३० लाख कम राजश्व संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षमा झापा ट्राफिकले ३ करोड ६९ लाख ५३ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको थियो ।
४७ हजार ९ सय सवारी कारवाहीबाट ट्राफिकले उक्त राजश्व संकलन गरेको हो । सबैभन्दा धेरै मोटरसाइकल कारबाहीबाट १ करोड २५ लाख ६३ हजार राजश्व संकलन गरेको छ । ट्रक कारबाहीबाट ९६ लाख ६१ हजार ५ सय, बस कारबाहीबाट १३ लाख २५ हजार , कारजिप कारबाहीबाट ४३ लाख ९२ हजार , ट्याक्टर कारबाहीबाट २५ लाख ६८ हजार ५ सय, टेम्पो र अन्य गरी ३३ लाख १९ हजार राजश्व संकलन भएको झापा ट्राफिक प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिनुभयो ।