Kanakai Online

भारतको सिलिगुडी हुदै काठमाण्डौ बस सेवा आजबाट सुरु


बुधवार, असार २२, २०७९ |

कनकाई अनलाईन
भारतको पश्चिम बङ्गालस्थित सिलिगुडी हुदै नेपालको राजधानी काठमाडौँसम्म बुधवारबाट सिधा बस सेवा संचालनमा आएको छ ।
पश्चिम बंगाल सरकारको सरकारी बस सेवा प्रदायक कम्पनी (एनबीएसटीसी) नर्थ बंगाल स्टेट ट्रान्सपोर्ट कर्पाेरेशनको मातहतमा रहने गरी उर्वन परीवहन सर्भिस प्रा.लि.ले भारतीय नम्बर प्लेटको सवारी साधनबाट नेपाल भारत बस सेवा सुरु गरेको हो । पश्चिम बंगालका यातायात मन्त्री फिरहाद हकिमले बुधवार एक कार्यक्रमबीच उक्त बस सेवाको उद्घाटन गर्नुभयो ।
ग्रीनलाइन कम्पनीको डब्लु बी २५ के २९४९ नम्बरको बसले सेवा सञ्चालन गर्दै नेपाल भारत सिधा बस सेवा सुरु गरेको हो । भारतका धेरै नागरिकहरुको काठमाण्डौमा जागिर र व्यापार व्यावसाय रहेको छ ।
नेपाल–भारतबीच सन् २०१४ मा भएको नेपाल–भारत मैत्री सेवा सम्झौता अनुरूप बस सेवा सुरु भएको बताइएको छ । सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको समयमा नेपाल र भारतबीच सिधा सम्बन्ध जोड्नका लागि नेपाल र भारतका प्रमुख सहरबाट सिधा बस सेवा सञ्चालन गर्ने सम्झौता भएको व्यावसायीहरुको भनाई छ ।

यसअघि नेपाल–भारतमैत्री बस सेवा सञ्चालन अन्तर्गत समेत नेपाली नम्बर प्लेटको सवारी साधनले निरन्तर सेवा प्रदान गरिरहेको छ ।
भारतीय नम्बर प्लेटको सवारी साधनले बुधबारबाट सेवा सुरु गरेको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स नाटा १ नम्बर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले बताउनुभयो ।

बुधवार दिउसो भारतको सिलिगुडीबाट पुर्वी नाका काँकरभिट्टा आइपुगेको बसका चालक, सहचालक, परिचालकसहित यात्रुहरुलाई पूर्वीनाकामा यहाँका उद्योगी व्यावसायी, प्रहरी, जनप्रतिनिधि, होटल व्यावसायी र पत्रकारले स्वागत गर्नुभएको थियो । सो अवशरमा नेपालका ट्राफिक प्रहरीबाट भारतीय सवारी चालक र सहचालकलाई नेपालको सवारी नियमका वारेमा जानकारी गराउनुभएको थियो ।

सो अवशरमा मेचीनगर वडानम्बर—६ का वडाध्यक्ष ललितकुमार तामाङले दुई देशबीच मैत्रीपूर्ण बस सेवा सञ्चालनमा आएपछि दुबै देशको धार्मिक पर्यटन र व्यावसाय वढने विश्वास राख्नुभयो । नेपाल भारत सिधा बस संचालन पछि सीमामा आउजाउ गर्ने मानिसले भोग्दै आएका यात्रु लुटिने लगायातका समस्या कम हुने व्यावसायीको विश्वास छ । आसाम मेघालयदेखिका यात्रुहरुले समेत यो सवारी साधन प्रयोग गर्न सक्ने र सहजरुपमा यात्रा गर्न सक्ने हुदा दुबै देशकका नागरिकहरुले यसको फाइदा लिन सक्ने स्थानीयको भनाई छ ।

तेन्जिङ्ग नोर्गे सिलिगुडी बस टर्मिनलबाट काठमाण्डौका लागि २२ जना यात्रु लिएर बस छुटेर सेवा सुरु गरेको हो । अव हप्ताको सातैदिन बसले सेवा दिने र हरेक दिन सिलिगुडी भारत र काठमाण्डौबाट एक्कैसाथ दुई बस छुटने भारतीय यातायात कम्पनीका पार्थ प्रतिम रायले बताउँनुभयो । सिलिगुडीदेखि काठमाडौंको ६ सय ४५ किलोमिटर यात्रा गर्न बसमा करिब १७ घण्टा लाग्ने र त्यसका लागि यात्रुले १ हजार ५ सय भारतीय रुपैँया बस भाडा तोकिएको छ ।

सम्बन्धित खबर