कनकाई अनलाईन
बिर्तामोड, असार ११ गते । अरुणपुर्वका ९ जिल्लालाई समेटेर लिम्बुवान प्रदेश नामकरण नगरिए सशक्त आन्दोलनमा उत्रने संघिय लिम्बुवान पार्टीले चेतावनी दिएको छ ।
शनिवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका केन्द्रिय अध्यक्ष सन्जुहाङ पालुङ्गा र सर्वमान्य नेता बीर नेम्बाङले कानुनी, ऐतिहासिक आधारमा अरुण पुर्वका ९ जिल्लालाई लिम्बुवान वाहेकको जुनसुक्कै नामकरण गरिएमा यस क्षेत्रमा आन्दोलन थालिने चेतावनी दिनुभयो । पार्टीका अध्यक्ष पालुङ्गाले यसअघि गत २०६४ साल चैत्र ६ गतेसमेत तत्कालिन सरकारको सात दलसगको ५ बुदे सम्झौतामा समेत यस क्षेत्रलाई ऐतिहासिक पृष्ठभुमि र भौगोलिक आधारलाई आधार मानि लिम्बुवान प्रदेश नामकरण गर्ने सम्झौता भएको बताउँनुभयो ।
आफुहरुसग पृथ्वीनारायण शाहको पालाका सम्पुर्ण कानुनी र ऐतिहासिक दस्तावेजहरु साथमा रहेको बताउँदै संविधान संसोधन गरि यस क्षेत्रको नामकरण गरिनुपर्ने पालुङ्गाले बताउँनुभयो । तत्कालिन गोर्खा राज्य र लिम्बुवान बिच वि.स १८३१ साउन २२ गते भएको नुनपानी लालमोहर सन्धि बमोजिम नेपालमा लिम्बुवान सहराज्यको रुपमा मान्ने भन्ने सम्झौता भएको लिम्बुवानका नेता बीर नेम्बाङ्गले बताउँनुभयो । बर्तमान सरकारले प्रदेश नम्बर एक भनी जोरजवरजस्ती रुपमा नामकरण गरिएको हो यसलाई हामी मान्दैनौ नेम्बाङ्गले भन्नुभयो । प्रदेश नम्बर एकमा सरकारले अन्य नाम राखि नामकरण गर्न लागिएको जानकारी आएको भन्दै सो भएमा यस क्षेत्रमा आन्दोलनको घोषणा गरिने नेताहरुको भनाई थियो ।